
गत असोज २५ गते साँझ सुनसरीको रामधुनीमा सिटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको हत्या भयो । चौधरीलाई गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गर्यो ।
प्रहरी अनुसन्धानबाट अन्धविश्वासका कारण चौधरीको हत्या भएको खुलेको छ । योजनाकारले आफू फ्रन्टमा आउने डरले 'कन्ट्र्याक्ट किलर’ (सुटर)लाई सुपारी दिएर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार चौधरी हत्याका मुख्य योजनाकार झुम्काका दाजुभाइ राजेश भनिने राजकिशोर साह र नन्दकिशोर साह हुन् ।
राजेशकी छोरीलाई मृतक चौधरीले लामो समयदेखि 'तन्त्रमन्त्र' र 'टुनामुना' गरेर बिरामी बनाएको र दु:ख दिएको अन्धविश्वासमा साह परिवार थियो । त्यही अन्धविश्वासले उग्ररूप लिँदै जाँदा उनीहरूले सुटरमार्फत चौधरीको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको हो ।
‘साह दाजुभाइले दिनेशलाई हाम्री छोरीलाई दु:ख नदिनु, जे भन्छौ त्यही दिन्छौं भनेर पटक-पटक भनेका रहेछन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरूले आफ्नो परिवारलाई दु:ख दिएको भन्ने अन्धविश्वासका कारण हत्या गरेको देखिन्छ ।’
साह दाजुभाइले चौधरीको हत्याका लागि सुनसरीको भोक्राहा नरसिंह- ५ का मोहम्मद इब्रान मियासँग सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । साथै उनीहरूले सुटरलाई ६ लाख ५० हजार रुपैयाँ दिने सहमति समेत गरेका थिए ।
प्रहरीका अनुसार सुटर मियाले हत्या गर्नुअघि नै ३ लाख रुपैयाँ ‘एडभान्स’ (पेस्की) बुझिसकेका थिए । बाँकी रकम हत्यापछि लिने सहमति उनीहरूबीच भएको खुलेको छ ।
डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सुटर मिया र घटनाका मुख्य योजनाकार साह दाजुभाइसहित घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीका अंकित साह, प्रिन्सकुमार दास, देवानगन्जका गियास मन्सुरी र मिथलेश यादव पनि रहेका छन् ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।