
एमाले मुख्यालय च्यासलको ठूलो मैदानमा केही दिन पहिले एकजना सञ्चारकर्मीले एक नेतालाई सोधे- तपाईंको उम्मेदवारी के मा हो ?
उनले जवाफ दिए-पदाधिकारीमा । कि त सचिव , कि उपमहासचिवमा । छलफलमै छु ।
सञ्चारकर्मीले फेरि प्रश्न गरे- कहिले घोषणा गर्नुहुन्छ ?
ती नेताको जवाफ थियो- अहिले घोषणा गरे नि, तपाईंकै मिडियामार्फत् ।
ती नेता हुन् कमरेड कर्णबहादुर थापा । नेपाली कम्युनिस्ट आन्दोलनको एक क्रान्तिकारी योद्धा । एमाले सुदूरपश्चिमका एक अमूल्य रत्न । एमाले स्थायी कमिटी सदस्य थापाले उमेर दुई दशक नपुग्दै कम्युनिस्ट आन्दोलनको ‘जल्दोबल्दो राँको’ समाते । समाज भन्दा फरक कित्तामा, कम्युनिस्ट पार्टीको लालझण्डामा आफूलाई गोलबद्ध गरे ।
थापा २०४८ सालको स्ववियु चुनावमा नेपाल ल क्याम्पसको सभापति निर्वाचित भए । उतिबेला गायक हुनलाई रेडियो नेपालको ‘स्वर परीक्षा’ पास गर्नु लगभग अनिवार्य थियो । जसले स्वर परीक्षा पास गर्यो, ऊ गायक भयो । ठीक त्यस्तै राजनीतिमा पनि जसले स्ववियु सभापति जित्यो, ऊ नेता भयो ।
यसरी नेपाल ल क्याम्पसबाट स्ववियु सभापति जितेर ‘राजनीतिको स्वर परीक्षा’ पास गरेका थापाले त्यसपछि राजनीतिको फराकिलो राजमार्गमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । राजनीतिक यात्रा प्रारम्भ गर्दा वामपन्थी बाटो हिँडेका थापा यो आलेख लेख्दासम्म नेपालको प्रमुख वामपन्थी पार्टी नेकपा एमालेका स्थायी कमिटी सदस्य छन् ।
बाजुरा जस्तो दुर्गम हिमाली जिल्लाबाट उदाएको रापिलो घाम हुन्- कर्ण थापा । जसले बाजुराबाट दूरबिन लाएर पनि हेर्न नसकिने काठमाडौं हल्लाइदिने तागत राख्छन् । आज कर्ण थापाको घामको किरण बाजुरासम्म मात्रै हैन, देशभर छरिएको छ । विचारको पहुँचमार्ग हुँदै सन्देश देशभर सम्प्रेषित छ । थापाले राजनीतिक जीवनको दैलो उघार्ने काम तत्कालीन विद्यार्थी संगठनबाट गरे । त्यसपछि एमाले बाजुराको सचिव बहाल भई संगठन र पार्टीलाई जनताका जरा जरासम्म पुर्याए ।
जतिबेला कर्ण थापा बाजुरा एमालेलाई जनताको घरघरमा पुर्याउँछु भनेर कम्मर कस्थे त्योबेला बाजुरामा ‘एमाले आयो, कम्युनिस्ट आयो’ भनेपछि जनताले घरको चुकुल थप कस्थे । जुनबेला थापा कम्युनिस्ट विचारधाराका माध्यमबाट ‘अँध्यारोमुक्त बाजुरा’ बनाउँछु भनेर लाग्थे , त्यतिबेला बाजुराका जनता ‘कम्युनिस्ट आयो’ भनेर अगेनाको आगो निभाएर घर अँध्यारो बनाइ बस्थे ।
जतिबेला थापा बाजुराको गाउँबस्तीको विभेद देखेर डराए, भोकमरी देखेर डराए, अन्याय अत्याचार देखेर डराए , त्यतिबेला समाज कम्युनिस्टसँग डराउँथ्यो । बाजुरा कम्युनिस्टसँग डराउँथ्यो ।
यस बीचमा पार्टी फुट्यो । फुटपछिको पहिलो चुनाव २०५६ मा बाजुरामा त्रिपक्षीय भीडन्त भयो । एमालेबाट फुटेको मालेबाट तत्कालीन जिल्ला नेता (हाल नेपाली कम्युनिस्ट पार्टीका नेता ) हिक्मतजंग शाही , एमालेबाट कर्णबहादुर थापा , नेपाली काङ्ग्रेसबाट जनकराज गिरीबीच ‘चुनावी भिडन्त’ भयो । जीत काङ्ग्रेसको पोल्टामा पर्यो । नेता जनकराज गिरी विजयी भए । लोकप्रिय नेता गिरीलाई बाजुरा काङ्ग्रेसको अक्सिजन भन्दा फरक पर्दैन । थापाले पहिलो हार यही चुनाबाट चाखे । तथापि कम्युनिस्ट भनेपछि डराउने समाजबाट ‘नडराउने मत’ ल्याए । कम्युनिस्ट भनेपछि अपमान गर्ने समाजबाट ‘सम्मानजनक मत’ ल्याए ।
त्यसपछि समाज रूपान्तरणका खातिर थापा संगठनको ज्वाला लिएर गाउँ बनाउने यात्रामा निस्किए । पार्टीले भिराइदिएको सिद्धान्त, दर्शन र विचारको आगो बोकेर गाउँ-गाउँ हिँडे । एमालेबाट फुटेर बनेको तत्कालीन मालेका शक्तिशाली जिल्ला नेता लालबहादुर थापा , हिक्मतजंग शाही , प्रकाश शाह माले छोडेर रूपान्तरित एमाले भए ।
फेरि चुनाव आयो । माओवादी आन्दोलनको बिसर्जन लगत्तै भएको ‘आलो चुनाव’मा फेरि बाजुरा एमाले हार्यो । कर्णबहादुर फेरि पराजित भए । चुनाव काङ्ग्रेसका देवराज जोशीले निर्वाचित भए । दुईटा चुनाव आफ्नो पक्षमा नरहेपछि बाजुरा एमाले फेरि जुर्मुरायो । विगत समीक्षा गर्दै र भविष्यको नक्सा कोर्दै नेता कर्णबहादुर थापा, लालबहादुर थापाहरू दह्रो मनका साथ थप एकताबद्ध हुँदै, जनतालाई सुशिक्षित गर्दै गए । लड्दै ,उठ्दै , धुलो टक्टक्याउँदै उनीहरू फेरि उठे । एमाले उठ्यो । त्यसपछि कर्णबहादुर थापाले आफ्नो प्रभाव देशव्यापी रूपमा ढङ्गले विस्तारे गरे । यही तागत र मानकका कारण जिल्लाबाट पहिलो केन्द्रीय सदस्य निर्वाचित भए । बाजुराले पाएको पहिलो केन्द्रीय नेता नै कर्णबहादुर थापा हुन् । कर्णबहादुर थापाको एउटा मानक छ, चुनावी राजनीति नफापे पनि पार्टी राजनीति फाप्छ । हुन पनि त्यस्तै भयो । पार्टी केन्द्रीय कमिटी सदस्य, पोलिटब्यूरो सदस्य हुँदै उनी हाल स्थायी कमिटी सदस्य छन् । अब उनको रोडम्याप पार्टी पदाधिकारी हुँदै शक्तिशाली कम्युनिस्ट पार्टीको प्रमुख हुने नै हो ।
फेरि चुनाव आयो । एमाले चुनावमा तन, मन र वचनका साथ थप एकताबद्ध , थप संगठित, प्रभावशाली , शक्तिशाली हुँदै गयो । नभन्दै ०७० सालको चुनावमा बाजुराबाट एमालेको ‘रातो घाम’ उदायो । त्यही रातो घाम हो- कर्णबहादुर थापा । ‘वर्ग संघर्ष र बाँच्ने संघर्ष’को काप फोड्दै कम्युनिस्टधारको एउटा पिपल बाजुराबाट उम्रियो । त्यही पिपल हो- कर्णबहादुर थापा ।
चुनावपछिको नेपाली काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री भए । बाजुराबाट जननिर्वाचित पहिलो मन्त्री नै थापा हुन् (सहायक मन्त्री, राज्यमन्त्री अरू पनि छन् ) । पार्टी जीवनभर आन्तरिक लोकतन्त्र , आन्तरिक संघर्ष, आन्तरिक अनुशासन, आन्तरिक सुशासनको पक्षमा दह्रोसँग आफ्ना खुट्टाले उभिने एक निर्भीक नेता हुन्- कर्णबहादुर थापा । थापाले पार्टी जीवनभर मदन भण्डारी, भण्डारीको देहावसानपछि केपी ओली र विद्या भण्डारीको पक्षमा सदाबहार विचार र दृष्टिकोणको पानी बगाइरहे । एक हिसाबमा पूर्वका केपी ओलीसँग पश्चिमका कर्ण थापाको राशी मात्रै मिलेन, पार्टीभित्रको गुटको बहुभाषी पनि मिल्यो ।
पार्टीको नवौं महाधिवेशन आयो । पार्टीभित्र भख्खर झलनाथ खनाललाई संसदीय दलको नेताबाट पराजित गरेर ‘ओली युग’ शुरू हुँदै थियो । पार्टीभित्र व्यापक ध्रुवीकरण जारी थियो । ओलीलाई पार्टी अध्यक्ष बनाउने एउटा समूह र माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने अर्को समूह हाबी थिए । कर्ण थापा एउटा सुनौलो सपना देख्थे त्यो हो- आन्दोलनको रापतापमा परेर , जेलनेल सहेर आएका केपी ओली प्रमुख शक्तिशाली कम्युनिस्ट पार्टी एमालेको अध्यक्ष भएको । कर्ण थापाको त्यो सपना पूरा भयो । नवौं महाधिवेशनबाट ओली शक्तिशाली पार्टी एमालेको अध्यक्ष निर्वाचित भए । अफ्ठ्यारो परिस्थितिमा ओलीलाई पार्टी अध्यक्ष बनाउन थापाले ‘क्याटालिस्ट’को भूमिका खेले ।
त्यसपछि थापाले अध्यक्ष ओलीको विश्वास जिते । विश्वास मात्रै जितेनन्, भीम रावलपछि सुदूरपश्चिम एमालेको ‘बागडोर’ कर्ण थापाको हातमा आयो । सिनियर नेता भानुभक्त जोशी हुँदाहुँदै पनि थापाको पृथक दृष्टिकोण , फरक तर प्रभावशाली स्वभावले सुदूरपश्चिम एमालेको ‘राजनीतिक मियो’का रूपमा कर्ण थापा उदाए । उनको नेतृत्व कुशलता थप परिष्कृत हुँदै गयो । ओलीले पनि थापाको विश्वास गर्न थाले । त्यसपछि झन् उनी ओलीको पक्षमा, उनको नेतृत्व रक्षाका लागि विपक्षीसँग भिड्न थाले ।
सुदूरबाट उदाएको ‘ओली पक्षको रापिलो घाम’ यो बेला फरक भूमिकामा छन् । उनी भन्छन्- ‘म ओली विरोधी होइन । ओलीको विपक्षी होइन । त्यो मानसिकतामा मेरो छैन । तर पार्टी विधिबाट, विधानबाट, वैचारिक दृष्टिकोणबाट, मूलभूत सिद्धान्तबाट, सैद्धान्तिक बहसबाट, फरक मतको सम्मान गर्ने हेतुबाट, सामूहिकताको सलामीबाट चल्नुपर्छ भन्ने पक्षको हुँ । यो मेरो धार हो । यही मेरो दृष्टिकोण हो । एक्लो भए पनि सत्य, तथ्य र अनुशासनको मूल मियोमा निर्भिकताका साथ उभिन्छु । एक्लै भए पनि उभिन्छु ।’
तर, थापा एक्लै छैनन् । देशव्यापी रूपमा उनका विचारका हाँगाहरू यो चिसो मंसिरमा पनि चैत वैशाखमा जस्तै पलाइरहेका छन् ।
एमालेको अर्को महाधिवेशनको सम्मुखमा छ । दशौं महाधिवेशनबाट एमालेले ‘नयाँ कुम्भ’ मेलाको आयोजना गर्ने गरेको छ । जुन ‘कुम्भ मेला’को नाम हो- विधान महाधिवेशन । मैले यसलाई कुम्भ मेला किन भनेको हो भने विधान महाधिवेशनबाट पारित विधान राष्ट्रिय महाधिवेशन आइपुग्दा यसरी ‘गायब’ भइदिन्छ कि बिहान हुने बित्तिकै तारा गायब भए जस्तो । विधान महाधिवेशनबाट लामो सामूहिक छलफल, बहस, विचार, विमर्श, मतभेदबाट पारित भएको विधान, राष्ट्रिय महाधिवेशनमा लागू हुँदैन । राष्ट्रिय महाधिवेशनमा फेरि परिमार्जन हुन्छ । पदहरू थपघट हुन्छन् । दशौं महाधिवेशनमा त्यही भयो । एघारौं महाधिवेशनमा पनि त्यही हुने कुराको हल्ला व्यापक छ ।
गत भदौ २०-२२ मा आयोजित विधान महाधिवेशनमा कर्ण थापा आफ्नो फरक तर महत्त्वपूर्ण मतका साथ ओलीइतर कित्तामा उभिए । यसलाई उनीइतर पक्षमा बोलेको भन्दा पनि पार्टीको विधान, पार्टीको सिद्धान्तको पक्षमा बोलेको भन्न रुचाउँछन् । ओलीले बल मिच्याइँका हिसाबले थापालाई बाहिर फरक मत बाँड्न त दिए तर हलमा प्रस्तुत गर्न दिएनन् । एउटा केटाले केटीलाई- I love you भनेर प्रपोज गरेछ । केटीले रिप्लाईमा- 'I love you but as a friend' भन्दिएछ । ठ्याक्कै 'ओलीनीति'सँग मिल्ने । फरक मत बाँड्न दिने तर प्रस्तुत गर्न नदिने ।
यतिबेला थापा फरक कित्तामा क्लियर छन् । राजनीतिमा यो चाहिन्छ पनि । हिसाब क्लियर भएन भने गणित बिग्रन्छ, विचार क्लियर भएन भने राजनीति बिग्रन्छ। यसरी थापाको मत क्लियर छ । उनको विचार छर्लङ्ग छ ।
उनको मत छ - पार्टी विधिपूर्वक चलेन । अनुशासनबाट चलेन । सिद्धान्तबाट चलेन । विचारबाट चलेन । विधान अनुरूप चलेन । पार्टी सामूहिकताबाट चलेन । सुशासनबाट चलेन । पार्टी एउटा ‘क्लब’जस्तो भयो । पार्टीमा संवाद भन्दा ‘व्यक्तिवाद’ हाबी भयो । जसरी चल्नुपर्थ्यो, त्यसरी चलेन ।
यतिधेरै चिज ‘चलेन’ भन्ने कर्णबहादुर थापाको आगामी राजनीति कसरी चल्छ त ? त्यो प्रश्नको उत्तर भविष्यको गर्भमा छ नै । महाधिवेशन हलबाट प्रतिनिधिले र चुनावबाट जनताले फैसला गर्ने नै छन् । तर एउटा कुरा, यति धेरै चिज ‘चलेन’ भन्ने कर्णबहादुर थापाको मुख अझै चल्नुपर्छ। मुख चलेन भने मान्छे मूर्तिमा रूपान्तरित हुन्छ । मूर्तिजस्तै नबोली बस्ने कम्युनिस्ट हुनुभन्दा कर्ण थापा जस्तो ‘बोल्ने कम्युनिस्ट’ हुनु समाज, पार्टी र देशका लागि बढी हितकर छ ।
पार्टीको आसन्न महाधिवेशनबाट पदाधिकारीमा (सचिव/उपमहासचिव) डेब्यु गर्न हाम्फालेका कर्णबहादुर थापालाई एउटा जिल्लावासीका हिसाबले मेरो हार्दिक शुभकामना छ । हार्दिक शुभेच्छा छ ।
योबेला पार्टीमा विचार, विमर्श, फरक मत आदि कुरा ‘कुहिरोको काग’जस्तै हराउँदै गएको छ । ‘वार्तालाप र मेलमिलाप’ भनेर बोल्ने व्यक्ति वरदान कम अभिशाप बढी भएको छ । पार्टीको आन्तरिक लोकतन्त्र ‘हाइज्याक’ भएको छ । पार्टीको आन्तरिक अनुशासन ‘कुन चराको नाउँ हो ?’ जस्तै भएको छ । पार्टीको आन्तरिक सुशासन ‘बाढी आएको खोलाको माछा’जस्तै बेपत्ता छ ।
माथि नै भनेको छु- विकट बाजुरा , जहाँ कम्युनिस्ट हुनु त कता हो कता, कम्युनिस्ट आयो भनेपछि मान्छेहरू ढोका थुनेर बस्थे । त्यस्तो ढोका थुन्ने ठाउँबाट निर्वाचनमार्फत् ‘जनमतको ढोका’ खोल्ने कर्ण थापा हार्नु हुँदैन ।
बाजुरा जहाँ हल्ला थियो- कम्युनिस्टहरू त ६० वर्ष पुगेपछि गोली हानेर मार्छन् । त्यस्तो हल्ला चलेको ठाउँमा, ‘६० बर्ष पुगेपछि त कम्युनिस्टले वृद्धभत्ता दिने रहेछन्’ भन्ने खुसीको समाचार बोकेर जाने जनताको नेता कर्ण थापा हार्नु हुँदैन ।
बाजुरा जहाँ हल्ला थियो- कम्युनिस्ट हुनु भनेको त पाप हो । ‘कम्युनिस्टको हातको पानी खानु हुँदैन’ भन्ने समाजमा कर्ण थापा , लालबहादुर थापा जस्ता कम्युनिस्टहरू जनताको घर-घरमा पानीको धारा लिएर पुगे । आज बाजुराका अधिकांश ठाउँमा खानेपानीको समस्या लगभग छैन । यस्तो नेतालाई जिताउनु पर्छ ।
पार्टी कामको सिलसिलामा, पार्टीको सभा-सम्मेलनमा, पार्टीका घोषित अघोषित बैठकमा, चुनावी प्रचारमा, घरदैलोमा, र्यालीमा कर्ण थापा पुग्दा गाउँमा हल्ला फैलिन्थ्यो- कर्ण थापा मरिसक्यो रे । कर्ण थापालाई मारिसक्यो रे ।
कर्ण थापा आफू मरेनन्, बरू त्यो बेला बाजुरामा ‘मरिसकेको’ पार्टीलाई नयाँ जीवनदान दिए । आफू मरेनन्, पार्टीलाई समेत मर्न दिएनन् । आफू मात्रै उठेनन्, पार्टीलाई पनि जुरूक्क उठाए । यस्तो नेतालाई हार्न छुट छैन ।
सदाबहार ओलीको असली अनुयायी , सदाबहार रूपमा अफ्ठ्यारोमा ओलीलाई हात, काँध र साथ दिने कर्ण थापा आफैं भन्छन्- ‘म ओलि विरोधी होइन । ओलीका गल्ती कमजोरीलाई सुधार गर्ने असल सुधारक हुँ । पार्टीभित्र मौलाइरहेको व्यक्तिवादी तुवालो हटाएर सामूहिकताको उज्यालो छर्ने ज्योती हुँ । देशको मूल कानून संविधानजस्तै पार्टीको मूल कानून विधान हो । पार्टी त्यही विधानको निर्देशन बमोजिम चल्नुपर्छ भन्ने मान्यता राख्ने, एमाले पार्टीको एक अनुशासित सिपाही हुँ । ओलीलाई दक्षिणका मोदी र उत्तरका सी चीन पिङभन्दा माथि राख्नुपर्छ भनेर हिजो मैले भनेकै हो । म त आखिर ओली कमरेडको एक शुभचिन्तक हुँ । शुभेच्छुक पो हुँ त ।’
अर्को एउटा कुरा, चुनाव एउटा प्राविधिक पाटो मात्र हो । कर्ण थापा सायद हार्दैनन् । तर, कम्युनिस्ट पार्टीभित्र (विशेषगरि आजको एमाले भित्र) तुलनात्मक रूपमा कमजोर रहेको आन्तरिक पार्टी लोकतन्त्रबारे कर्ण थापाको आवाज आज देशभर गुञ्जिएको छ । यो नै उनको जित हो । पार्टी हितका रूपमा उठेको यो निर्भिक आवाज बन्द हैन, बुलन्द गरिनुपर्छ । हराउने हैन, फरफराउने हुनुपर्छ ।
त्यसैले आदरणीय एमालेका आम शुभचिन्तकहरू, पार्टीका निर्णायक प्रतिनिधिज्यूहरू, आम कार्यकर्ता र नेताज्यूहरू ! हजुरहरूले कसैको प्यानल लिस्ट, कसैले बाँडेको चिट लिस्ट हेरेर होइन कि पार्टीको भविष्य हेरेर मतदान गर्नु हुनेछ । तपाईंको एक भोट कर्ण थापालाई हाल्दा पछुताउनु पर्ने कुनै कारण छैन । जिल्लागत रूपमा नेपाली काङ्ग्रेसजस्तो शक्तिशाली पार्टीको सहमहामन्त्री (बद्रीप्रसाद पाण्डे) पाएको बाजुरा जिल्लाले यसपटक शक्तिशाली कम्युनिस्ट पार्टीको सचिव पाउनेछ । र, हामीले भन्नुपर्छ- अघि बढ कर्ण थापा कार्यकर्ता साथमा छ । एमालेको भविष्य तिम्रै हातमा छ ।
(लेखक चिकित्साशास्त्रका विद्यार्थी हुन् । साहित्यमा रूचि राख्ने उनी कविता, गजल, संस्मरण र कथा लेख्छन् ।)