०७ साउन २०८३, बिहीबार

राजनीतिक विवाद बढ्दा ‘हत्या’ प्रयास, कांग्रेस ‘कार्यकर्ता’विरुद्ध वारेन्ट जारी

पुस ८, २०७४
राजनीतिक विवाद बढ्दा ‘हत्या’ प्रयास, कांग्रेस ‘कार्यकर्ता’विरुद्ध वारेन्ट जारी
प्रतिवादीहरु जीवनाथ चौधरी, नविन झा, पंकज महतो र आसुतोष भिनने शशिभुषण झा बायाँबाट क्रमश ।

जनकपुरधाम, ८ पुस– जिल्ला अदालत धनुषाले स्थानीय जीवनाथ चौधरीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । चौधरी रामानन्द यूवा क्लवका पुर्वअध्यक्ष, मैथिली विकास कोष धनुषाका अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक हुन् । उनीविरुद्ध ज्यान मार्ने अभियोगमा जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाएको थियो । 

ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । त्यसैगरी जनकपुर–६ बस्ने ४५ वर्षिय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भइ हाल जनकपुर ८ बस्ने बर्ष २६ को नवनित झा, जनकपुर ८ बस्ने बर्ष ३५ को आसुतोष झा भन्ने शशिभुषण झा, जनकपुर १० बस्ने बर्ष २७ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले वारेन्ट जारी गरेको छ ।

७ पौष २०७४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले उक्त आदेश गरेको हो । २ मंसिर २०७४ मा जनकपुर ९ बस्ने प्रकाश मिश्रलाई जीवनाथ चौधरी र रितिक राज अग्रवाल लगायतका व्यक्तिहरुले पेटमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश दिएको हो । पक्राउ परेका प्रतिवादीहरुमध्ये रितिक राज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश दिएको हो । त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जु देवी अग्रवाललाई ४५ हजार रुपैयाँ धरौटी लिई अदालतले रिहा गरेको छ ।

न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘ उल्लेखित तथ्यको आधारमा प्रतिवादी मध्येका रितिक राज अग्रवालको हकमा विचार गर्दा खाना खाजाको विषयलाई लिएर आफ्नो होटेलमा घाईतेसँग विवाद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा स्वीकार गरेको देखिएको, आफ्नो होटेल बाहिर मानिसहरु झगडा गरेको आफूले सुनेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिएको, जाहेरी, घाईतेको कागज, घटना विवरण कागज गर्ने मध्येका सागर यादव समेतको कागज र समग्र मिसिलको अध्योपान्त अध्ययन गर्दा प्रतिवादी मध्येका जीवनाथ चौधरीको अरहोटमा यी प्रतिवादी रितिक राज अग्रवालले ज्यान मार्ने उद्देश्यले घाईतेको पेट/छातीमा छुरा प्रहार गरेको भन्ने देखियो । घाईतेको घाउ चोटको अवस्था, घाउ चोट लागेको शरीरको भाग, अंग समेत संवेदनशील देखिन आयो । वारदातमा प्रयोग भएको हतियार समेत धारिलो भन्ने देखियो । तसर्थ उल्लेखित आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन भनि विश्वास गर्न सकिने मुनासिव आधार देखिएकोले पछि थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी रितिक राज अग्रवाललाई थुनुवा पुर्जी दिई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्न कारागार शाखा जलेश्वरमा पठाईदिनु भनि अदालतबाट आदेश गरिएको छ ।’

घाइते प्रकाश मिश्रका बुवा बेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले ८ मंसिर २०७४ मा प्रतिवादीहरु रितिक राज अग्रवाल र मञ्जु देवी अग्रवाललाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न रहेका तथा फरार रहेका अन्य प्रतिवादीहरु जीवनाथ चौधरी, पंकज महतो, आसुतोष झा भन्ने शशिभुषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई प्रक्राउ गर्न नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले २ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएका थिए । सोही आधारमा अदालतले फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

बेदानन्द मिश्रले आफ्नो छोरा (प्रकाश) तथा सम्पूर्ण परिवार राष्ट्रिय जनता पार्टी नेपालप्रति समर्पित रहेको तथा प्रतिवादीहरु नेपाली कांग्रेसका कार्यकर्ता भएको बताएका छन् । छोरा र परिवारलाई नेपाली कांग्रेसमा लाग्न भनि प्रतिवादीहरुले पटक पटक दवाव दिँदै आएको उनले जाहेरीमा उल्लेख गरेका छन् । कांग्रेसका समर्थन गर्न नमानेका कारण धेरै पटक ज्यान मार्ने धम्की आएको समेत उनले उल्लेख गरेका छन् ।
 
२ मंसिर २०७४ मा राति ९ बजेतिर जीवनाथ चौधरीको नेतृत्वमा पंकज महतो, आसुतोष झा, नवनित झा लगायत व्यक्तिहरु मिश्रको घरमा पुगेका थिए । तर त्यतिबेला प्रकाश घरमा थिएनन् । प्रकाशलाई घरमा नभेट्टाएपछि उनीहरुले घरको आंगनमा रहेको गमला तोडफोड गर्नुका साथै गालीगौलच गरेको बुवा बेदानन्दको भनाइ छ । जनकपुर उपमहानगरपालिका–८ का वडाध्यक्ष रमेश ठाकुर फौदारले उनीहरुलाई त्यहाँबाट जान भनेपछि उनीहरु प्रकाशको घरबाट निस्किएका थिए । 

घरबाट निस्किएका उनीहरुले प्रकाशलाई बजारबाट फर्किने क्रममा फेला पारे । अँध्यारोमा लुकिरहेका उनीहरुलाई प्रकाशलाई छोपर कुट्न थाले । रितिक राज अग्रवालले प्रकाशको पेटमा छुरा प्रहार गरेको बुवा बेदानन्दले जाहेरीमा उल्लेख गरेका छन् । 
 
प्रकाश घाइते भएपछि उनीहरु फरार भएका थिए । प्रकाशलाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्याएपनि त्यहाँ उनको उपचार सम्भव हुन सकेन । अस्पतालले थप उपचारका लागि रिफर गरेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

बुवा बेदानन्दले प्रतिवादीहरु सातै जनालाई ५ देखि १२ वर्षसम्मको कैद सजाय हुनुपर्ने जाहेरीमा माग गरेका छन् । 

कमेन्ट गर्नुहोस्