
काठमाडौं, ९ पुस- एमाले-माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ। पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
पार्टीभित्र असन्तुष्टिको आवाज मुखरित हुन नदिन ओली-दाहाल दुवैले गरेको खबरदारीले पनि एकताप्रतिको आशंकालाई साँघुरो बनाउँदै लगेको छ। माओवादीभित्र सुषुप्तरुपमा उठ्न थालेको असन्तुष्टिलाई शनिबार मात्रै दाहालले भैरहवाको एक कार्यक्रममार्फत खबरदारी गरेका छन्। ‘को नेताले के भने त्यसको पछि नलाग्नुस्, एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् तर हामी सबै इमान्दार छौं, गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं।'
गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) लगायत केही नेताले एकताको विपक्षमा बोल्न थालेपछि दाहालले त्यस्तो टिप्पणी गरेका हुन्। बरु उनले नेता-कार्यकर्तालाई त्यही कार्यक्रमबाट भने, ‘एकताका लागि तपाईंहरूले पनि नेतृत्वलाई बल दिनुस्।'
ओलीले पनि तीन दिनअगाडि काठमाडौंको एक कार्यक्रममा आफ्नै नेताहरूलाई खबरदारी गर्दै भनेका थिए, ‘एकताको विरोधमा कसैले जिब्रो निकाल्न सक्छन् तर रोक्न सक्दैनन्।'
मूल नेतृत्व दृढ देखिए पनि विचार, राजनीति, संगठन, नेतृत्व, कार्यविन्यास र सरकारलगायत विषय अब बस्ने एकता संयोजन समितिले टुंगो लगाउनुपर्ने देखिन्छ।
‘वैचारिक राजनीतिक लाइन तयार पार्ने, संगठनात्मक रुपमा संरचनाहरू कस्तो र कसरी निर्माण गर्ने र एकीकृत पार्टी बनाउने भन्ने विषय टुंग्याउनुपर्ने हुन्छ,' माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसपछि आन्तरिक विधान बनाउने र पार्टी एकता गर्नेसम्मको विस्तृत खाका बनाउनुपर्छ।'
त्यसैको एजेन्डासहितको तयारी अबको बैठकमा हुने नेताहरूको भनाइ छ। एकताका लागि मिलाउनुपर्ने जटिल पक्ष भनेकै नेताहरूको व्यवस्थापन देखिन्छ। स्रोतका अनुसार अहिलेसम्म मुख्य नेतृत्वको व्यवस्थापनका विषयमा सामान्य रुपमा छलफल चले पनि औपचारिक निर्णयमा पुगिसकिएको छैन। त्यसपछिका नेताको व्यवस्थापनका विषयमा भने अहिलेसम्म छलफलै चलेको छैन।
वैचारिक पक्षका रूपमा यी दुई पार्टीले समाजवादको मोटो खाकालाई आधार बनाएर जाने संकेत गरेका छन्। समाजवादको आधार तयार पार्ने रणनीतिक लक्ष्यमा एमाले-माओवादीले एकता गर्न चाहेका छन्। त्यसको तत्कालीन कार्यक्रम र नीतिमा उनीहरूले समृद्धि, सुशासन र जनजीविकाका विषयलाई मुख्य विषय बनाएर जाने संकेत गरेका छन्। चुनावी घोषणापत्रमा पनि उनीहरूले त्यही कुरामा जोड दिएका थिए।
इतिहासको मूल्यांकनका विषयमा भने एकताका क्रममा दुई पार्टीबीच केही अन्तर देखा पर्नसक्ने छन्। तर त्यसमा पनि ठूलो खड्को आइनलाग्ने माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। विषय संश्लेषणमा जाने देखिन्छ,' भण्डारीले भने।