
काठमाडौं, ९ पुस- समयमा बजेट खर्च नहुने प्रवृत्ति यो वर्ष पनि यथावत देखिएको छ । सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिकको आधा समय बितिसक्दा पनि पूँजीगत खर्चको ९ दशमलव ५५ प्रतिशत मात्रै खर्च गरेको छ ।
चालू आर्थिक वर्षको छ महिनामा कूल बजेटको २६ दशमलव ६ प्रतिशत खर्च भएको छ । चालू आवको कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ रहेको थियो जसमध्ये हालसम्म तीन खर्ब ४० अर्ब १९ करोड गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च रु दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६ दशमलव ४४ प्रतिशत खर्च भएको छ । यसैगरी पूँ्जीगततर्फ रु ३१ अर्ब ९९ करोड अर्थात् ९दशमलव ५५ प्रतिशत हुन आउँछ ।
वित्तीय व्यवस्थातर्फ रु १५ अर्ब ४१ करोड अर्थात् १० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ ।
चालू आवको मंसिर महिनासम्ममा रु दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५ दशमलव ५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४ दशमलव ९७ ले वृद्धि हो ।