
विश्वमा हिन्दू, बौद्ध, जैन, यहूदी, इसाई तथा इस्लामधर्मका अनुयायीहरू छन् । यसो त केही धर्मनिरपेक्ष (कुनै पनि धर्म नमान्ने) वादीहरू पनि छन् तर, तिनको सङ्ख्या निकै कम छ ।
धर्मवादीहरूमध्ये हिन्दूहरू वेदलाई मूल धर्मग्रन्थ मान्दछन् भने बौद्धहरूको मूल धर्मग्रन्थ त्रिपीटक अर्थात् सुत्तपीटक, विनयपीटक र अभिधम्मपीटक हो । त्यस्तै, यहूदीहरूको मूल धर्मग्रन्थ पुरानो बाइबल रहेको पाइन्छ भने इसाईहरू नयाँ बाइबललाई र इस्लामहरू कुरआनलाई मूल धर्मग्रन्थ मान्ने गर्दछन् । यस आलेखमा यसैबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
यद्यपि इतिहासमा जरथ्रुस्थ धर्मको पनि उल्लेख भेटिन्छ । उनीहरू यहोवालाई भगवान् अर्थात् मूल आदर्शपुरुष मान्थे भने मूल धर्मग्रन्थमा अवेस्ता पर्दथ्यो । करिब ऋग्वेदको समकालीन देखिएको अवेस्ताको भाषा पनि करिब ऋग्वेदकै भाषासँग मिल्दोजुल्दो पर्दथ्यो । यी दुवै धर्मगन्थको भाषा सौरसेनी प्राकृत भाषा परिवारमा पर्ने भएकाले पनि यस्तो भएको हो ।
यसबाहेक अवेस्ताको कतिपय प्रसङ्ग महाभारत र पुराणको प्रसङ्गहरूसँग मिल्दोजुल्दो रहेको पाइन्छ । तथापि करीव आठौँ शताब्दीतिर पर्शियामाथि इस्लामहरूबाट भएको आक्रमणको कारण अवेस्तासहित जरथ्रुस्थ धर्मसमेत सदाका लागि इतिहासको पानामा सुरक्षित हुन पुगेको पाइन्छ ।
वेद वैदिक आर्यहरूको मूल धर्मग्रन्थ हो भन्ने कुरा माथि नै आइकेको छ, जसको रचना आर्यऋषिहरूले गरेका थिए । यसो त वैदिक सनातनीआर्यहरू वेदलाई अनादि र अपौरुषेय मान्ने गर्दछन् तर, तथ्यले भने पुष्टि गर्दैन । वास्तविकता त के हो भने जब ई.पू. १८०० तिर चन्द्रवशी ऐलहरू र सूर्यवंशी आदित्यहरू इलावर्ततिर आएर रहन लागे तब उनीहरूले आर्यसमूह गठन गरे । उनीहरूले आर्यसमूहमा आबद्ध भएपछि सर्वप्रथम गरेका महत्वपूर्ण काममा एउटा वेदमन्त्र प्रकटीकरण पनि हो, जुन काम ई. पू. १५०० तिरबाट शुरू भई ई. पू. १०० तिर पूरा भएको थियो ।
जब उनीहरू आर्यसमूहमा आबद्ध भए त्यसपछि उनीहरूको एउटा समूह उर्वरभूमि खोजगर्दै डर लाग्दा भीर, पाखा, पखेरा, गुफा, ओडार, घाँटी तथा खोलानाला पार गरी पूर्वतर्फ लागेका थिए । यस क्रममा उनीहरूले पहिलो बसाइ काबूल तथा स्वात उपत्यकालाई बनाएका थिए भने दोस्रो बसाइमा सप्तसिन्धुक्षेत्र र तेस्रो बसाइमा गङ्गायमुनाको मैदानी भूभागसम्म आइपुगेका थिए । सोही दोस्रो बसाइबाट शुरू गरेका वेदमन्त्र प्रकटीकरणको कार्य तेस्रो बसाइमा पुगेर समापन हुन पुगेको पाइन्छ ।
वैदिक सनातनधर्मपछि सर्वप्रथम भारतीय उपमहाद्वीपमा विकास भएको धर्ममा क्रमश: चारवाक र जैनधर्म पर्दछ तर, हाल चारवाक नाममा मात्र सीमित देखिन्छ भने जैनहरूको सङ्ख्या पनि निकै कम रहेको पाइन्छ तर, त्यसपछि विकास भएको धर्म बौद्धधर्मको भने निकै विकास भएको देखिन्छ । करिब ईशापूर्व छैटौँ शताब्दीतिर विकास भएको यस धर्मको प्रवर्तक शाक्यवंशी सिद्धार्थ गौतम बुद्ध हुन् । यसै अर्थमा यस धर्मलाई बौद्धधर्म भन्ने गरिएको हो । उनले बुद्धत्व प्राप्त गरेपछि जुन चार आर्यसत्यको कुरा गरेका थिए त्यही नै बौद्धधर्मको मूल मानिन्छ ।
यहूदीधर्म पनि प्राचीनतम् धर्ममै पर्दछ । यहूदीहरू आदमलाई भगवान् र उनका वंशज अब्राहम, इसहाक र मूसालाई आदर्शपुरुष मान्दछन् । यिनमा इसहाक अब्राहमकै पुत्र थिए भने मूसा पनि उनकै वंशजमा पर्दथे तर, इसाई धर्मको प्रवर्तन भने यहुदीकै वंशज इशामसीहबाट भएको हो । करिब ईशाको तेस्रो शताब्दीसम्म इसाईहरू यहूदीहरूलाई राम्रै मान्दथे तर, त्यसपछि भने के भएछ कुन्नि उनीहरूबीच कट्टर दुश्मनी शुरू भएको देखिन्छ ।
जहाँसम्म इस्लाम धर्मको कुरा छ त्यो भने सातौँ शताब्दीतिर हजरत मुहम्मदबाट भएको हो । उनलाई यहूदीहरूका आदर्शपुरुष मुसाको अनुयायी भन्ने गरिएको छ । इस्लामधर्मको आधार पनि पनि यहूदी धर्म नै थियो । अहिले पनि इस्लामहरू हजरत मोहम्मदलाई अब्राहम र मूसाको सन्देशबाहक मान्ने गर्दछन् । तत्कालीन अरबको पूजारी तथा व्यापारी परिवारमा जन्मेका हजरत मोहम्मदले शुरूमा मक्काबाट र पछि गएर मदिनाबाट यस धर्मलाई प्रचार गरेका थिए ।
स्मरणीय के छ भने मुसापछि यहुदीहरूमा खासै धर्मप्रचारक आदर्शपुरुष जन्मेको पाइन्न तर, त्यसैबाट विकास भएको इसाई र इस्लामधर्मको प्रचार भने निकै परसम्म पुगेको पाइन्छ, जसले गर्दा हाल दुनियाँको करिब आधा भू–भाग यसैले ढाकेको छ ।
बुद्धधर्म र वैदिक सनातनबीच रूपमा भिन्नता देखिए पनि सारमा अर्थात् दर्शनको क्षेत्रमा खासै भिन्नता अनुभूत गर्न सकिन्न तर, करिब समकालीन मानिएका वैदिकसनातन धर्म र जरथु्रस्थ धर्मका बीचमा भने बाह्य दृष्टिमै निकै समानता पाउन सकिन्छ । यसबाहेक अन्य धर्मका बीचमा भने धेरै भिन्नता दृष्टिगोचर हुन्छ । यसको अर्थ समानता छँदै छैन भन्ने पनि होइन । कतिपय मामिलामा समानता पनि भेटिन्छ । यसमा सर्वाधिक समानता भनेको मानवताको पक्षमा हो ।
वैदिक सनातनधर्मले शान्ति, सदाचार, दान, दया, परोपकार र परहितमा जोड दिएको छ । अन्य धर्मका आशय पनि त्योभन्दा भिन्न पाउन सकिन्न । हाल विश्वमा कुनै यस्ता धर्म छैनन्, जसले उल्लिखित कुरामा मतभिन्नता देखाएका हुन् । हो, हिन्दूधर्मले मूर्तिपूजालाई मानेको छ अन्य धर्मावलम्बीहरू यसमा विश्वास गर्दैनन् । हिन्दूसनातनीहरू बहुदेववादका अनुयायी हुन् भने अन्य धर्मले एकेश्वरवादमा जोड दिएको छ । यसबाहेक अन्य कुरामा प्राय: समानता पाउन सकिन्छ ।
वैदिक हिन्दूहरू मन्दिरमा आस्था राख्दछन् । भलै नाम र रूपमा भिन्नता होला अन्य धर्ममा पनि यस्तो विश्वास नरहेको होइन । बौद्धहरू गुम्बासंस्कृतिमा विश्वास गर्दछन् भने इसाईहरू चर्च र इस्लामहरू मस्जिदमा आस्था राख्दछन् । हिन्दूहरू पूजा र प्रार्थनामा आस्था राख्छन् यस्तो अवधारणा अन्य धर्ममा पनि रहेको छ । सबैभन्दा ठूलो समानता भनेको मानवताको पक्षमा हो । तथापि आ–आफ्ना आस्थाका कारण उनीहरूको बीचमा विभाजनको पर्खाल खडा हुन पुगेको देखिन्छ । फलत: यसैका कारण यदाकदा निकै अप्रिय स्थिति निम्तिने गरेको पनि पाइन्छ । त्यसैले अबको प्रयास सर्वधर्मसमभावतिर उन्मुख हुनुपर्ने देखिन्छ । ताकि मानवताको पक्षपोषण गरी वसुधैवकुटुम्बकम्को भावनालाई मजबूत बनाउन सकियोस् ।