
काठमाडौं, ११ पुस- वाम गठबन्धनले दुई तिहाइ नजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ।
ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ।
‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’
दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा १३७ हुन्छ । त्यसमा थप एक स्वतन्त्र सांसद एमालेले आफ्नो पक्षमा पार्न सके माओवादी बिनै सरकार बन्न सक्छ ।
ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।