
ताप्लेजुङ सदरमुकाम फुङलिङमा दूध डेरी र चिया पसल सञ्चालन गर्दै आएकी सिर्जना बराल अघिल्लो चुनावसम्म कुनै पार्टीको प्रतिबद्ध मतदाता थिइन्, यसपटक भने उनको मन बदलिएको छ । देशका अन्य ठाउँका जस्तै बराल पनि यसपटक नयाँलाई परीक्षण गर्ने भन्दैछिन् ।
‘पुराना दललाई धेरैपटक भोट दियौं, तर हामी जस्ता जनताको जीवनमा खास परिवर्तन आएन । यसपटक नयाँलाई हेरौं भन्ने विचार छ’, बरालले भनिन् । जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि एकपटक युवाहरूलाई मौका दिनु पर्ने उनको भनाइ छ ।
बरालको कुरामा जोड्दै उनका पति अनिल भट्टराईले थपे, ‘अहिलेसम्म देश विकास कसरी गर्ने भन्ने भिजन भएको नेतृत्व पाइएन । त्यसैले पनि यसपटक देशैभर नयाँप्रतिको आकर्षण बढेको हो ।’
नयाँ दलको पक्षमा लहर रहे पनि यही प्रणाली रहेसम्म जनताले अपेक्षा गरेको परिवर्तन हुने सम्भावना कम रहेको भट्टराईको विश्लेषण छ । ‘यही प्रणाली रहेसम्म त नयाँले पनि के गर्न सक्लान् र ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली भयो भने देशमा स्थिरता होला’, भट्टराईले भने ।
फुङलिङमै सानो व्यवसाय र अटोरिक्सा चलाउँदै आएका २८ वर्षीय तान्छो हाङले यसपटक मतदाताले नयाँ अनुहारलाई हेर्न चाहेको बताए । आफ्नो रोजाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) या श्रम संस्कृति पार्टीमध्ये एउटा हुने उनले संकेत गरे ।
‘पुराना दललाई भोट दिँदै आएका मतदाता पनि यसपटक मत परिवर्तन गर्ने पक्षमा छन्, पटक-पटक ठगिएका जनताले यसपटक नयाँलाई दिऔं न त भन्दैछन्’, तान्छोले लोकान्तरसँग भने ।
ताप्लेजुङको शहरी क्षेत्रमा घण्टी र ग्रामीण क्षेत्रमा माटो (श्रम संस्कृति पार्टी)को पक्षमा आकर्षण देखिएको उनले बताए ।

ताप्लेजुङकै अर्का युवा सुमन ढुंगानाले यसपटक नयाँ पार्टीलाई मत दिने योजना रहेको बताए । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शनका लागि रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार तोकिएका बालेन शाह आएपछि जिल्लामा रौनक बढेको उनले सुनाए ।
‘पुरानाबाट पार लागेन, अब एकपटक नयाँलाई परीक्षण गर्ने हो, बालेनले काठमाडौंमा धेरै सुधार गर्नुभएको भन्ने सुनेका छौं’, ढुंगानाले भने, ‘त्यही कुराले हामीलाई प्रभावित गरिरहेको छ । यसपटक युवालाई चान्स ।’
यी प्रतिनिधिमूलक मतदाता हुन्, जसले केवल एउटै कुरा भनिरहेका छन्- नयाँ । पुरानै दलका भए पनि नयाँ अनुहारप्रति मतदाता आकर्षित देखिएका छन् भने पुराना अनुहारप्रति प्रश्न गरिरहेका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा पहाडी जिल्लामा मतदाताको बदलिएको मनोविज्ञान बुझ्न सकिन्छ ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा २०७९ सालमा एमाले उपमहासचिव योगेश भट्टराईले चुनाव जितेका थिए । युवा संघका पूर्वअध्यक्ष क्षितिज थेवेले टिकट पाएका कारण यसपटक योगेश उम्मेदवार छैनन् ।
तर, ०७९ सालको नतिजा र तथ्यांक अहिलेको सन्दर्भमा सान्दर्भिक छैन । देशमा भएका राजनीतिक घटनाक्रम र नयाँ दलको उदयले पुरानो अकंगणितलाई लगभग असान्दर्भिक बनाइदिएको मतदाताहरूको भनाइ छ ।
यहाँ नेपाली कांग्रेसबाट गजेन्द्र तुम्याङ लिम्बु, नेकपाबाट खेलप्रसाद बुढाथोकी, रास्वपाबाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार छन् । श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार छन् ।
‘लिम्बुवान’ बाहुल्य क्षेत्र भनिने पूर्वी पहाडी जिल्लामा नयाँमध्ये श्रम संस्कृति पार्टीको पनि बाहुल्यता छ । धरानका पूर्वमेयर हर्क साम्पाङको व्यक्तिगत लोकप्रियताका कारण राई-लिम्बु बाहुल्य क्षेत्रमा त्यसको प्रभाव परिरहेको छ ।
प्रदेश १ को नाम कोशी राख्दा भएको विरोध मत्थर भएको छ, चुनावमा कोशी नामकरणले खासै असर गरेको देखिँदैन ।
‘पुरानो त रूच्दै रूच्दैन पो भन्छन्, के भएको यस्तो ?’
नयाँ दलप्रतिको लहर पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि उत्तिकै छ । युवा मतदाता मात्र होइन महिला र पाका उमेरका मतदाता पनि यसपटक नयाँ र युवालाई अवसर दिने भनिरहेका छन् ।
चैनपुर फिदिमका टीबी सुब्बाले मतदाताहरू नयाँ उम्मेदवारको पक्षमा देखिएको बताए ।

‘पुरानो त रूच्दै रूच्दैन पो भन्छन् हौ, के भएको यस्तो ?’, उनले अहिले मतदाताको रुची फेरिएकोतर्फ संकेत गर्दै भने । नयाँ दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले माहोल बनाएका उनले बताए ।
फिदिममा पसल राखेका नवराज अधिकारी पुराना दलप्रति यसपटक जनतामा आकर्षण नदेखिएको दाबी गर्छन् । ‘सबै खराब होइनन्, तर यसपटक मतदातामा नयाँप्रतिको आकर्षण देखिएको छ । यो पुराना दलले काम नगरेका कारण हो’ अधिकारीले लोकान्तरसँग खुलेर कुरा गरे ।
पाँचथरमा माटो (श्रम संस्कृति पार्टी)को चर्चा रहेको अर्का मतदाता भीम परियारले बताए । ‘बोलीको भर नभए पनि हर्कले गरेको कामले हामीहरूलाई प्रभाव पारेको छ, उनी काम गर्ने नेता हुन् भन्ने धेरैलाई परेको छ’, उनले भने ।
फिदिममा जुत्ताचप्प्लको पसल राखेकी अञ्जना अधिकारी भने नयाँहरूको चर्चा रहे पनि पुरानै दलले चुनाव जित्ने बताउँछिन् । ‘हुन त अहिले नयाँ नयाँ भनिरहेका छन्, तर अन्तिममा जित्ने चाहिँ पुरानै दलले हो’ अधिकारीले भनिन् ।
७३ वर्षका तुल्सी नेम्वाङले जिल्लाले पद्मसुन्दर लावती जस्तो नेता पाउन नसकेको गुनासो गरे । ‘हेर्नुस, यहाँ जे जति विकास भयो पद्मसुन्दर लावतीले गरेको हो, त्यसपछिका नेताले विकास नगर्दा नयाँ नयाँ पार्टी आए’ नेम्वाङले लोकान्तरसँग भने, ‘हामीलाई विकासप्रेमी नेता चाहिएको हो ।’
०७९ सालको चुनावमा वसन्त नेम्वाङ विजयी भएको पाँचथरमा यसपटक नेकपा एमालेबाट आइन्दसुन्दर नेम्वाङ उम्मेदवार छन् । नेपाली कांग्रेसबाट नरेन्द्र केरुङ, नेकपाबाट हर्कबहादुर नेम्वाङ तथा रास्वपाबाट महेन्द्रविक्रम थाम्सुहाङ र श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा उम्मेदवार छन् ।

पुरानै दलका भए पनि नयाँ उम्मेदवारले थाम्दै पहिरो !
यसअघिको चुनावमा पहिलो दल बनेको नेपाली कांग्रेसमा नयाँ नेतृत्व परिवर्तन गरेर गगन थापा पार्टी सभापति बनेका छन् । शेरबहादुर देउवाबाट कांग्रेसको नेतृत्व सरेर तेस्रो पुस्ताको गगन थापा आइसकेको छ, तर त्यसको सन्देश जनता र मतदातामा पुग्न सकेको छैन ।
गगन-विश्वप्रकाश शर्माको नेतृत्व आए पनि त्यसको प्रभाव तलसम्म पुग्न नसकेको कांग्रेसका कार्यकर्ताहरू स्वीकार गर्छन् । ‘हाम्रो पार्टीमा नेतृत्व परिवर्तन भएर पुरानै भनिरहेका छन्’, इलाम बजारमा कांग्रेसका एक नेताले भने ।
सूर्योदय नगरपालिका-३ का दीपक लिम्बु पुराना दलले पनि नयाँ उम्मेदवार उठाएका कारण इलाममा रोचक प्रतिस्पर्धा हुने बताउँछन् ।
‘घण्टी र माटोको प्रभाव व्यापक देखिन्छ, तर संगठन भएका कांग्रेस, एमाले र नेकपा पनि त्यति कमजोर छैनन्’ लिम्बुले लोकान्तरसँग भने, ‘नयाँ नयाँ उम्मेदवार रहेका कारण पुरानै दलले चुनाव जित्ने सम्भावना पनि उत्तिकै छ ।’
इलाम-१ मा नेपाली कांग्रेसले युवा निश्कल राईलाई उम्मेदवार बनाएको छ । यसअघि नेकपा एमालेका महेश बस्नेतले चुनाव जितेको यो क्षेत्रमा एमालेबाट काजिमान कागते उम्मेदवार छन् । सूर्योदय नगरपालिकाको मेयर भइसकेका रनबहादुर राई नेकपाबाट उम्मेदवार छन् भने रास्वपाबाट विमल गदाल उम्मेदवार छन् । यस्तै, श्रम संस्कृति पार्टीबाट विनोद नेम्वाङ लिम्बु चुनावी मैदानमा छन् ।
सूर्योदय-१० का राकेश देवान कांग्रेसले नयाँ उम्मेदवार अगाडि सारेका कारण नयाँ खोज्नेका लागि विकल्प दिएको बताउँछन् । ‘अहिलेका मतदाताले पुरानो पार्टीको विकल्प खोजेका होइनन्, काम गर्ने नयाँ अनुहार खोजेका हुन,’ देवानले लोकान्तरसँग भने, ‘जेनजी पुस्ताकै प्रतिनिधित्व गर्ने भएकोले निश्कल सक्षम उम्मेदवार बनेका छन् ।’

नयाँ उम्मेदवार भएको क्षेत्रमा दलहरूलाई भोट माग्न सजिलो भएको कार्यकर्ताहरू बताउँछन् ।
स्थानीय अशोक चाम्लिङ राई इलाम लगायत पूर्वी पहाडका जिल्लामा रास्वपा र श्रम संस्कृति पार्टीको प्रभाव रहेको स्वीकार्छन् । ‘नयाँ पार्टीको दबाबका कारण पुराना पार्टीले पनि नयाँ उम्मेदवारलाई अगाडि सारेका छन् । पुराना दल खत्तम हुन भन्ने कुरा गलत छ’, देवानले लोकान्तरसँग भने ।
सूर्योदय-१२ इलामका सुमन आचार्य यसअघि जिताएका उम्मेदवारले जनअपेक्षा अनुसार काम नगरेका कारण यसपटक मत परिवर्तन गर्ने पक्षमा उभिएको बताए । ‘हजुरबुवाको पालादेखि हाम्रो परिवारले एउटा पार्टीलाई समर्थन गर्थ्यौं, तर यसपटकदेखि मन फेरेका छौं’ आचार्यले भने, ‘उनीहरूलाई पटक-पटक जिताएर के भयो ? यसपटक नयाँलाई नै दिने हो ।’
इलामको क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट भेषराज आचार्य, नेकपाबाट ओमबहादुर गुरुङ, रास्वपाबाट गोकुल बहादुर राई र श्रम संस्कृति पार्टीबाट सुदीप राई उम्मेदवार छन् ।
विदेशबाट फोन, सासु-ससुराले भने पनि बुहारीले नमान्ने !
विदेशमा रहेका छोरा/छोरीले आफ्ना अभिभावकलाई फोन गर्ने ट्रेन्ड पूर्वी नेपालमा पनि उस्तै छ । सूर्योदय नगरपालिकाकी स्थानीय सरू गदाल यसपटकको चुनावमा बुवा आमाले भनेको छोराछोरीले नमान्ने र छोराछोरीले भनेको आमाबुवाले मान्ने अवस्था नरहेको बताउँछिन् ।
‘बाउआमा एउटा पार्टीमा छन्, तर छोराछोरीले अर्कै दलको समर्थन गर्दैछन्’ गदालले लोकान्तरसँग भनिन्, ‘अहिलेका मतदातालाई कन्भिन्स गर्ने अवस्था छैन ।’
कन्याममा भेटिएकी सुमित्रा घिमिरेले कामको सिलसिलामा विदेशमा रहेकाले परिवारका सदस्यलाई फोन गरेर निश्चित दललाई भोट हाल्न लगाइरहेको बताइन् । ‘यसपटक गाउँमा महिलाको चेतनास्तर फेरिएको छ, सासु-ससुराको दबाबमा बुहारीले भोट हाल्ने स्थिति छैन्’, उनले भनिन् ।
दल नफेर्ने तर मत फेर्ने ट्रेन्ड देखिएको स्थानीयहरू बताउँछन् । युवामा मात्र होइन वृद्धवृद्धालाई समेत नयाँ दल र उम्मेदवारले आकर्षण गरेको देखियो ।

पञ्चायतको समयमा समेत भोट हालेका ताप्लेजुङ लिङ्तेपका छविलाल उपाध्यायले (८१) अहिले नयाँ नयाँ पार्टी आइरहेकोले अलमलमा रहेको बताए । ‘बाउबाजेले लगाएको लुगा अहिलेकाले नलगाउने भन्छन्, त्यो भनेको पुरानालाई दिन्नौं भनेको त होला नि !’ उपाध्यायले भने ।
नयाँ दलप्रतिको आकर्षण- उम्मेदवार नै चिन्दैनन् !
देशका अन्य भागमा जस्तै पूर्वी पहाडका जिल्लाका शहरी क्षेत्रमा रास्वपाको प्रभाव देखिन्छ । ग्रामीण भेगमा श्रम संस्कृति पार्टीले पनि मतदाता आकर्षित गरिरहेको छ । तर अधिकांश मतदाताले रास्वपाको उम्मेदवार को छ भन्ने चिन्दैनन् ।
पुराना दलका उम्मेदवारहरू मतदाताको प्रश्नको सामना गरिरहेका छन्, जबकि नयाँ दलका उम्मेदवारको नाम समेत थाहा नभए पनि भोट हाल्ने भन्दैछन् । ‘पूर्वी पहाडी जिल्लामा पनि नयाँ पार्टीप्रति एकप्रकारको तरङ्ग आएको छ, यो फागुन २१ सम्म कति टिक्छ त्यो नतिजाले देखाउला’, फिदिमका नवराज ढुंगानाले भने ।
इलाम बजारमा भेटिएकी सुनिता लिम्बुले युवाको चाहना अनुसार नयाँ पार्टीलाई भोट दिने बताइन् । ‘बालेन सर अस्ति इलाममा आउनु भएको थियो, बालेनलाई हेरेरै हामीले भोट दिने हो’, उनले भनिन् ।
‘यसपटक नयाँ’ भन्नेहरू पुराना दलले धेरै अवसर पाए पनि काम नगरेको गुनासो गर्छन् । देशभर फैलिएको यो भाष्य निर्माण सामाजिक सञ्जालले गरिरहेको छ । ‘हामीले यही मोबाइलमा हेरेर सबै थाहा पाउने हो, जताततै नयाँ भनेको सुन्छौं । उनीहरूले केही गर्लान् कि ?’, इलाम बजारकी सुनिता राईले भनिन् ।

फुङ्लिङका स्थानीय व्यवसायी सञ्जय लिम्बु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालाई आफ्नो पुरानो मत जोगाउनै धौ धौ रहेको बताउँछन् । ‘नयाँ दलले आफ्ना गतिविधि बढाए पनि कांग्रेस-एमालेले जनतालाई आकर्षण गर्ने ढंगले अभियान सञ्चालन गरेका छैनन्’ लिम्बुले लोकान्तरसँग भने, ‘भदौ २४ मा आगो लगाएको भन्ने कुरा बसर्सिसके, युवाहरू नयाँ नयाँ भन्दैछन् ।’
स्थानीय मोहनप्रसाद घिमिरे भने नयाँ दलको हल्ला बढी भएपनि अन्तिममा पुराना दल नै हाबी हुने दाबी गर्छन् । ‘अहिले पनि कांग्रेस-एमाले नै बलिया छन्’, उनले भने ।
प्रचारमा आक्रामक रास्वपा, कांग्रेस-एमाले रक्षात्मक
मतदातालाई सम्बोधन नगरे पनि पूर्वी पहाडी जिल्लामा रास्वपा नेता बालेन शाहले गरेको ‘रोड शो’को प्रभावले नयाँ मतदाता आकर्षित भएका छन् ।
झापामा उम्मेदवारी दर्ता गराएपछि बालेन प्रसिद्ध पाथीभराको दर्शनमा गएका थिए । त्यसक्रममा उनले पूर्वी पहाडी जिल्लामा शुभेच्छुकलाई भेटेका थिए ।
‘यसै पनि नयाँ पार्टीको पक्षमा माहोल बनिरहेको थियो, प्रधानमन्त्रीको उम्मेदवार आफैं गाडी चलाएर आउनु भयो । युवाहरू आकर्षित छन् ’ पाँचथरमा भेटिएका ऋषिराम भट्टराईले भने ।
झापासँग कनेक्सन रहेको पूर्वी पहाडी जिल्लामा मधेशको राप पुगेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमजस्ता जिल्लाबाट झापामा बसाइँ सरेका कतिपय मतदाताको कनेक्सन पहाडसम्म पुगेको देखिन्छ । बालेन शाह झापा-५ मा उम्मेदवार बन्न आएपछि पूर्वी पहाडी जिल्लामा समेत रास्वपाको प्रभाव बढेको अन्य दलका कार्यकर्ताको विश्लेषण छ ।