२३ असार २०८३, मंगलबार

आगोले क्षणभरमै सखाप बन्यो मुसहर बस्ती- न अन्न बाँकी रह्यो न ओत, विद्यालयको भुइँमा ५४ जनाको बास [तस्वीरहरू]

चैत ५, २०८२
विराटनगर
आगोले क्षणभरमै सखाप बन्यो मुसहर बस्ती- न अन्न बाँकी रह्यो न ओत, विद्यालयको भुइँमा ५४ जनाको बास [तस्वीरहरू]

बुधबार बिहानसम्म मोरङको बुढीगंगा–३ स्थित मुसहर बस्तीमा छुट्टै रौनकता थियो । कोही छिमेकी जिल्लातिर मजदुरी गर्न निस्किएका थिए, कोही खेतबारीमा पसिना बगाउँदै थिए भने कोही घरधन्दामा व्यस्त थिए ।

तर, दिउँसो २ बजेपछि भने त्यो रौनकता एउटा बीभत्स त्रासदीमा बदलियो । हेर्दाहेर्दै दन्किएको आगोले ११ वटा विपन्न मुसहर परिवारको ‘सर्वस्व’ निलिदियो र सिंगो बस्तीलाई खरानीको थुप्रोमा परिणत गरिदियो ।

अहिले त्यही बस्तीका ५४ जना सदस्य स्थानीय जनता आधारभूत विद्यालयको बसिरहेका छन् । बाहिर रातको सन्नाटा छ, तर विद्यालयभित्र भने सुकसुकावट र सामूहिक चित्कार रोकिएको छैन । ११ परिवारका ती ५४ जनाको ओत अहिले विद्यालयको चिसो भुइँ बनेको छ, जहाँ उनीहरू न निदाउन सकेका छन्, न त भोलिको कुनै सपना देख्न नै सकेका छन् ।

null

आगलागी हुँदा धेरैजसो पुरुषहरू काममा बाहिर थिए । घरमा भएका महिला र केटाकेटीहरू केवल ज्यान जोगाउन मात्रै सफल भए । कर्कटपाता र बाँसको टाटीबेराले बनेका ती झुपडीहरू आगोका लागि निकै ‘सहज आहार’ बने । त्यसमाथि घरभित्र रहेका ग्यास सिलिन्डरहरू एकपछि अर्को गर्दै बम पड्किएझैँ विस्फोट हुन थालेपछि कसैले पनि घरभित्र पसेर अन्नपात वा लत्ताकपडा निकाल्ने आँट गर्न सकेनन् । स्थानीय अगुवा महिला रेखा माझीका अनुसार हेर्दाहेर्दै ४५ मिनेटभित्रै सबै चिज खरानी भयो ।

विद्यालयको एउटा कुनामा बसेकी भुन्टी श्रीषिदेवका आँखा ओभाएका छैनन् । उनी भक्कानिँदै भन्छिन्, ‘वर्षभरि दु:ख गरेर अलिअलि धान जम्मा गरेका थियौँ, सबै खरानी भयो । न खाने अन्न बाँकी रह्यो, न लगाउने लुगा । बालबच्चाले भोक लाग्यो भन्दा के दिने ? शरीरमा जे लगाएका थियौँ, त्यही मात्रै जोगियो ।’

null

काखे बच्चा बोकेर विद्यालयको हलमा टोलाइरहेकी रेखा ऋषिदेवको पीडा पनि उस्तै छ । ९ जनाको ठूलो परिवार भएकी उनलाई भोलि कहाँ जाने र के खाने भन्ने चिन्ताले सताएको छ । ‘अहिले त हामी विद्यालयमा छौँ, तर सधैँ त यहाँ बस्ने कुरा भएन । हिजोसम्म घर भएको ठाउँमा अहिले खरानीको थुप्रो मात्रै छ,’ उनले लामो सुस्केरा हाल्दै भनिन् ।

६ जनाको परिवार पाल्दै आएका उत्तम श्रीसिदेवको पनि घरसँगै सबै अन्नपात जल्यो । उनीहरूको घरमा अहिले एक दाना चामल पनि बाँकी छैन ।

null

मुसहर समुदाय, जो सधैं आर्थिक र सामाजिक रूपमा किनारामा छ, उनीहरूका लागि यो आगलागी एउटा प्राकृतिक विपत्ति मात्र होइन, एउटा ठूलो जीवन–मरणको संकट बनेर आएको छ । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर यी परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू अहिले खुला आकाशमुनि र विद्यालयको भुइँमा आइपुगेका छन् । घरसँगै साँचिएका थोरै सुनचाँदी, नगद र वर्षभरि खाने अन्नपात सबै आगोको ज्वालामा विलिन भए ।

null

गाउँपालिकाका अध्यक्ष जितनारायण चौधरीले पीडितका लागि तत्काल खाना र राहतको व्यवस्था गरिएको बताएका छन् । गाउँपालिकाले तन्ना, झुल र त्रिपालको प्रबन्ध त गरेको छ, तर विद्यालयको त्यो बसाइ कति दिनका लागि ? यो प्रश्नले पीडितहरूलाई झनै पिरोलेको छ । सरकारी राहतले केही छाक टर्ला, तर उनीहरूको मनमा लागेको घाउ र भत्किएको ओत पुनर्स्थापना गर्न निकै समय लाग्ने देखिन्छ ।

आगो निभ्यो, दमकलहरू फर्किए र सुरक्षाकर्मीले आफ्नो काम सके, तर ती ५४ जनाको मनमा सल्किएको अनिश्चित भविष्यको डढेलो अझै निभेको छैन । विद्यालयको चिसो भुइँमा पल्टिएकाहरूको अहिले एउटै प्रश्न छ– ‘के हाम्रो घर फेरि ठडिएला ?’

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्