
प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलको कार्यालयले माग गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार ज्यानसम्बन्धी कसुरमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतसमक्ष माग गरिएको हो ।
अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको जानकारी काफ्लेले लोकान्तरलाई जानकारी दिए । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले दमन गरेकै कारण प्रदर्शनकारी मारिएको दाबी कार्की आयोगको प्रतिवेदनमा छ ।
आयोगले दुवै जनालाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो । त्यसैका आधारमा उनीरूलाई पक्राउ गरिएको हो ।