२६ जेठ २०८३, मंगलबार
ओलीको बन्दी प्रत्यक्षीकरण रिट

इजलासमा वरिष्ठ अधिवक्ताहरूको माग– केपी ओली भाग्ने मान्छे होइन, हाजिरी जमानीमा छाडियोस्

चैत १६, २०८२
काठमाडौं
इजलासमा वरिष्ठ अधिवक्ताहरूको माग– केपी ओली भाग्ने मान्छे होइन, हाजिरी जमानीमा छाडियोस्

प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हाजिरी जमानीमा छोड्न वरिष्ठ अधिवक्ताहरूले इजलाससँग आग्रह गरेका छन् ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरूले ओलीको स्वास्थ्यका कारण पनि उनलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता टीकारम भट्टराईले ओली पक्राउको प्रक्रिया नमिलेको दाबी गरे । ‘मन्त्रिपरिषद् अनुसन्धान अधिकत होइन, अनुसन्धान अधिकृत नतोकी कसैलाई पक्राउ गर्न मिल्देन,’ भट्टराईले भने, ‘उहाँलाई हाजिरी जमानीमा छाड्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता रमेश बडालले ओलीको पक्राउ पूर्वाग्रही भएको बताए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मुक्ति प्रधान, दीनमणि पोखरेल, शेरबहादुर केसीलगायतले ओलीको पक्राउ नै पूर्वाग्रहपूर्ण रहेको दाबी गरेका हुन् ।

‘पूर्वप्रधानमन्त्री ओली प्रहरी घेरामा हुनुहन्छ, उहाँ भाग्न सक्ने मान्छे होइन । यसरी बदनिणतपूर्ण ढंगले पक्राउ गर्न मिल्दैन,’ केसीले भने, ‘उहाँलाई २४ घण्टाभित्र हाजिरी जमानीमा छाड्नुपर्छ ।’

वरिष्ठ अधिवक्ताहरूले पूर्वगृहमन्त्री रमेश लेखको रिटलाई समेत लगाउ(सँगै)मा राखेर हेर्न माग गरे । ओलीको पक्षमा बहस गर्ने सबैले उनको स्वास्थ्य अवस्थालाई ख्याल गरेर थुनामुक्त गर्नुपर्ने माग गरेका थिए ।

जिल्ला अदालतले म्याद थपे पनि मानवियता हेरेर ओलीलाई थुनामुक्त गर्न उनीहरूले माग गरे । जेनजी आन्दोलन दबाउन भूमिका खेलेको आरोपमा ओली शनिबार बिहान पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ५ दिन म्याद थपेको थियो ।

प्रहरी हिरासतमा रहेका ओली शनिबारदेखि नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्