
काठमाडौं, १९ पुस– आन्तरिक राजस्व विभागले लामो समय निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल चलाएर बिक्री गरी हिँडेको टेलिया कम्पनीलाई १५ दिनभित्र लाभकर बुझाउन अल्टिमेटम दिएको छ । विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शसयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न अल्टिमेटम दिएको हो ।
कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गदै टेलिया कम्पनीलाई लाभकर, ब्याज तथा अन्य शूल्क समेत गरी कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख रुपैयाँ १५ दिनभित्र तिर्न भनेको छ । कार्यालयले बुधबारसम्मको कर बक्यौता देखाउँदै टेलिया कम्पनीको स्विडेनस्थित मुख्यालयको नाममा सूचना जारी गरेको हो ।
ठूला करदाता कार्यालयले यस अघि २०७४ असार १६ गते पनि टेलियालाई एनसेल बिक्री वापतको लाभकर तिर्न पत्राचार गर्दै अब पनि कर चुक्ता नभए कारबाही प्रत्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
टेलियालाई पटक पटक ताकेता गर्दा समेत कर भुक्तानी नगरेपछि अन्तिम चेतावनीसहित पत्र काट्नुपरेको कार्यालयले जनाएको छ । तोकिएको मितिभित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ बमोजिमका प्रक्रिया अवलम्बन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने ठूला करदाता कार्यालयले सूचनामा उल्लेख छ ।
टेलियाले एनसेलमा रहेको आफ्नो स्वामित्व २०७२ साल चैत्र १९ मा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो ।