
काठमाडौं, १९ पुस– राजधानीको सानो गौचरणमा रहेको केएल रेसिडेन्ट अपार्टमेन्टमा पटक–पटक गरी तीन जनाको ज्यान गएको छ ।
दुगड ग्रुपको उक्त अपार्टमेन्टमा अधिकांश भारतीयहरु बस्दै आएका छन् ।
प्रहरीका अनुसार उक्त अपार्टमेन्ट निर्माणका क्रममा एक जनाको खसेर मृत्यु भएको थियो भने २०७२ सालको भूकम्पका बेला पनि एकजनाको मृत्यु भएको थियो ।
आज फेरि आगलागी भएर एक जनाको मृत्यु भएसँगै एकै भवनमा तीन फरक घटनाका क्रममा तीन जनाको मृत्यु भएको हो ।
उक्त १४ तले अपार्टमेन्टको पहिलो तलमा बुधबार साँझ एकाएक आगलागी हुन पुगेको थियो ।
रंग भण्डार गरेर राखिएको पहिलो तलको एक कोठामा आगलागी हुन पुगेको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले जानकारी दिए । आगलागीबाट एक जनाको जलेको अवस्थामा शब भेटिएको उनले जानकारी दिए ।
मृत्यु हुनेमा भारत उडिसा राज्यका वीरबल माझी रहेका छन् । उनी त्यहाँका बस्दै आएका व्यक्ति हुन् या मजदुर हुन् भन्ने खुल्न बाँकी रहेको छ ।
प्रहरीका अनुसार आगलागी दमकलका साथै प्रहरी र स्थानीयले करीब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार केएल रेसिडेन्ट नामको १४ तले अपार्टमेन्टको पहिलो तलमा आगलागी भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको आगलागीको कारण पनि खुल्न बाँकी रहेको छ ।