
यात्रुलाई उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटका सुविधा
नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो 'रोयल क्लब फ्रिक्वेण्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ ।
नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकौंदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत् लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् ।
यात्रु सदस्यहरूले यस फ्रिक्वेण्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै माइलेज प्वाइन्ट' जम्मा गर्न पाउनेछन् ।
निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्नेछन् ।
सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट
बुद्ध एयरले यसअघि रिफण्डेबल टिकट अर्थात् Y, A र B क्लासमा मात्र यात्रुलाई माइलेज प्वाइन्ट प्रदान गर्दै आएकोमा अबदेखि नन-रिफन्डेबल टिकटमा पनि माइलेज प्वाइन्ट प्रदान गरिने बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रूपेश जोशीले जनाएका छन् ।
अनलाइनबाटै माइलेज टिकट
अब यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरि बुद्ध एयरको मोबाइल एप वा वेबसाइटबाटै सजिलै टिकट काट्न सक्नेछन् । यसअघि यो सुविधा केवल सेल्स काउण्टर वा एयरपोर्ट काउण्टरमार्फत मात्र उपलब्ध थियो ।
उदाहरणको लागि काठमाडौंबाट पोखरा उडानमा नन रिफण्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा-काठमाडौं उडान टिकटमा ११२ रुपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् ।
यात्रुहरूले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफ्नो रोयल क्लब नम्बर उल्लेख गर्न बुद्ध एयरले अनुरोध गरेको छ । यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।
अन्य थुप्रै छुटहरू
रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरि डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।