
काठमाडौं, २३ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार वार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा २ घण्टा चलेको वार्तामा दुबै अध्यक्ष एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सहमत भएका छन् ।
छलफलमा दुबै अध्यक्षले एकता प्रक्रियालाई भाँड्न षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति चनाखो बन्दै छिट्टै टुंगोमा पुग्नुपर्नेमा समेत जोड दिएका थिए ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको प्रतिक्रिया दिए ।
‘सरकारको विषय र मुलतः पार्टी एकताका विषयमा छलफल भयो । जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्याउने सहमति भएको छ’, प्रचण्डले बैठकपछि भने, ‘भोलि एमाले र हाम्रो पार्टीको बैठक बसि आन्तरिक छलफल गरेर पर्सी एकता संयोजन समितिको बैठक बस्छ।’
समितिको बैठकबाट वैचारिक राजनीतिक र सांगठनिक विषय हल गर्न अर्को टीम बनाएर जाने पनि प्रचण्डले बताए ।
आजै चितवनबाट फर्किएका प्रचण्ड ओली भेट्न साँझ ६ बजे बालकोट पुगेका थिए ।
ओली बुधबार उपचारका लागि थाइल्याण्ड जाने भएकाले सो पार्टी एकताका विषयमा ठोस सहमति जुटाउन दुई अध्यक्ष प्रयासरत रहेको बताइएको छ ।
एमाले र माओवादी केन्द्रका नेताहरुले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताउँदै आएका छन् ।
तर, नेतृत्व, कार्यदिशालगायतका विषयमा सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको बताइन्छ ।