
नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोजको दोस्रो साता आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, प्रतियोगिता असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन हुनेछ ।
सहभागी फ्रेन्चाइज टिम र सरोकारवालासँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरिएको पनि आयोजकले जनाएको छ ।
पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँअघि आयोजना हुने यो लिगले दर्शकलाई चाडपर्व र खेलको मनोरञ्जन एक साथ दिने आयोजकको जनाएको छ ।
एसियाकै पहिलो महिला भलिबल भलिबल फ्रेन्चाइज लिगको रूपमा समेत रहेको यो लिगले नेपालको महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।
यसअघि पहिलो संस्करण काठमाडौंमा र दोस्रो संस्करण पोखरामा आयोजना थियो । तर, प्राविधिक कारणले बिचमा स्थगित भएको दोस्रो संस्करणको बाँकी खेल भने काठमाडौंमै खेलाइएको थियो ।
पहिलो र दोस्रो संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो । दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए ।
एभरेष्ट महिला भलिबल लिगका प्राविधिक निर्देशक जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताए । ‘एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । अहिले नेपालको महिला भलिबल एफआईभीबी विश्व वरियतामा पनि समावेश छ । एसियाको शीर्ष १० वरियतामा पुगेको छ र जापानमा हुने एसियन गेम्समा पनि छनोट भएको छ,’ भट्टले भने ।