२६ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

सर्वोच्चको फैसलाले सरकारको निर्णय बदर, सिंहदरबारको क्यान्टिनमा घुन लागेको चना

जेठ ३०, २०८३
काठमाडौं
सर्वोच्चको फैसलाले सरकारको निर्णय बदर, सिंहदरबारको क्यान्टिनमा घुन लागेको चना

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ ।

माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।

००००

झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।

नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रको ११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगानको ६५ वटा चियाको बोट दशगजा क्षेत्रमा परेको हुँदा हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको हो ।

००००

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलनमार्फत बक्यौता रकम बुझाउनेसम्बन्धी सातदिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो । लिमिटेडले यही जेठ २५ गते बक्यौता रकम सात दिनभित्र बुझाउन सूचना जारी गरेको थियो ।

००००

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ ।

००००

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार दिउँसो करिब २:१५ बजे बा. ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जना यात्रुको दुःखद निधन भएको थियो भने १६ जना यात्रु घाइते भएका छन्।

००००

शकौंदेखि काठमाडौंको मुटु भृकुटीमण्डप, नेपालका साना–ठूला राजनीतिक दलहरूको 'शक्ति प्रदर्शन' गर्ने मुख्य अखडा रहँदै आयो ।

तर अब, यो इतिहास बन्ने भएको छ । सर्वोच्च अदालतले ऐतिहासिक र साहसिक फैसला गर्दै भृकुटीमण्डप र प्रदर्शनी मार्गलाई सधैँका लागि 'राजनीतिक दलमुक्त' घोषणा गरिदिएको छ !

अर्थात्, त्यहाँ अब कुनै पनि राजनीतिक दलले सभा-सम्मेलन गर्न पाउने छैनन् । यो फैसलासम्म आइपुग्ने कथाको पृष्ठभूमि निकै रोचक छ ।

००००

'कल्पना गर्नुहोस् त– ट्राफिक कारबाहीमा परेपछि न कुनै अफिस धाउनुपर्ने, न घाममा लाइन बस्नुपर्ने । आफ्नै घरको सोफामा बसेर, चिया पिउँदै आफ्नो मोबाइलबाटै सचेतना कक्षा लिन पाए कस्तो होला ?

हो, अब यो डिजिटल नेपालको यथार्थ बनिसकेको छ !

प्रविधिको युगमा नेपाल प्रहरी र ट्राफिक व्यवस्थापन प्रणालीले एउटा यस्तो छलाङ मारेको छ, जसले लाखौँ चालकलाई ठूलो राहत दिएको छ ।

'डिजिटल नेपाल'को अवधारणालाई व्यवहारमा उतार्दै अब तपाईं आफ्नै मोबाइलबाट 'अनलाइन ट्राफिक सचेतना कक्षा' लिन सक्नुहुन्छ ।

००००

शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको हो ।

००००

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो ।

अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) गरेको हो ।

साथै, अदालतले अब छनोट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य र मान्यता अनुकूल हुने गरी आधार र कारण खुलाएर पुन: निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ ।

००००

नेपाली कांग्रेसले विभिन्न ५ वटा उपसमिति गठन गरेको छ ।

यही जेठ २७ र २८ गते सम्पन्न भएको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकले उपसमिति गठन गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

००००

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शून्य तीन अङ्कमा सीमित भएको छ ।

००००

सरकारले विगत ३१ वर्षअघि सिफारिस भएको 'सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग' (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

००००

माओवादी सशस्त्र द्वन्द्वकालका बाल सैनिक (लडाकू)हरूको आत्मसम्मान र अधिकार स्थापित गर्ने सन्दर्भमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको छ ।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनील कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले शुक्रबार गरेको फैसलामा सरकारका नाममा विभिन्न निर्देशानात्मक आदेशसहितको परमादेश जारी गरिएको छ ।

००००

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्