
काठमाडौँ, ३ माघ - राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई रङका चार प्रकारका मतपत्रबाट मतदान हुने भएको छ । प्रदेशसभा सदस्यले एउटा रङको मतपत्रबाट मतदान गर्नेछन् भने स्थानीय तहबाट प्रतिनिधित्व गर्ने उपप्रमुख एवं प्रमुखले अर्को रङको मतपत्रबाट मतदान गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ छ ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, मतपत्रको ढाँचा, मतदान र मतगणना लगायतका विषयमा छलफल एवं परामर्श गर्ने क्रममा त्यस्तो जानकारी दिएको हो ।
मतपत्रको ढाँचामा प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतपत्र तयार गरिनेछ भने सातवटै प्रदेशमा मतगणना हुनेछ । दलसँगको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मत्रपत्रको ढाँचा, आयोगले हालसम्म गरेको तयारी र दलबाट आयोगले गरेको अपेक्षा लगायतका विषयमा परामर्श भएको थियो, गोरखापत्रमा खबर छ ।