
काठमाडौं, ४ माघ — प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधवार श्रीलङ्कातर्फ प्रस्थान गरेका छन् ।
प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको
थियोे ।
उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, नेपालस्थित श्रीलङ्काका महामहिम राजदूतलगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सहचारीहरूको समेत उपस्थिति रहेको
थियो ।
भ्रमणको दौरान उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाईसेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा उनले महत्त्वपूर्ण कमाण्ड हेडक्वार्टरहरूको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री बुधवार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्ववर्गको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।