११ साउन २०८३, सोमबार

'दुर्भाग्यशाली १५ मिनेट' : पार्टीबाट टिकट पाए, उम्मेदवारी दर्ता भएन

माघ १०, २०७४
'दुर्भाग्यशाली १५ मिनेट' : पार्टीबाट टिकट पाए, उम्मेदवारी दर्ता भएन

जनकपुरधाम १० माघ- सर्लाहीका माओवादी नेता नरेन्द्र साह कलवार बुधवार बिहान निकै खुशी थिए । उनको खुशीको कारण थियो, माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यको टिकट पाउनु ।

तर, खुशी दिनभर पनि टिकेन । काठमाडौंमा बिहान ९ बजे मात्र टिकट पाएका कलवार मनोनयन दर्ता गराउन हतार-हतार जनकपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय त पुगेका थिए, तर १५ मिनेट ढिला ।

अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा सवा ४ बजे पुगेका कारण उनको उम्मेदवारी मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले मानेन ।

भित्र पार्टी प्रतिनिधि तथा प्रस्तावक प्रदेशसभा सदस्य भरत साह र समर्थक शारदा लामा फारम भरेर तयारी अवस्थामा बसेका थिए । सडकमार्ग हुँदै जीपबाट जनकपुर पुगेका कलवार निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गर्न खोजे, तर प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेलसमेत भयो ।

भीड जम्मा भयो, अनि विपक्षीले होहल्ला गर्न थाले । अन्तत: उनको उम्मेदवारी दर्ता नहुने नै पक्का भयो ।

माओवादीका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलका अनुसार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीलाई फोन गरेर १०/१५ मिनेट ठूलो कुरा नभएकाले उम्मेदवारी दर्ता गरिदिन आग्रह गरेका थिए, तर उप्रेतीले मानेनन् ।

जबकि उप्रेति नै मुख्य निर्वाचन अधिकृत हुँदा स्थानीय तह निर्वाचनका बेला रातिसम्म उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सोही (अल्पसंख्यक) कोटामा राजपाका तर्फबाट वृजेशचन्द्र लाल उम्मेदवार छन् । उनलाई निर्विरोध बनाउन निर्वाचन अधिकृतले षड्यन्त्र गरेको मण्डलको आरोप छ ।

राजपा नेपालका केन्द्रीय  उपाध्यक्ष समेत रहेका  वृजेशचन्द्र लाललाई निर्बिरोध जिताउनका  लागि धनुषा जिल्ला अदालतका मुख्य न्यायायधीश समेत रहेका निर्वाचन अधिकृत उप्रेतीले षड्यन्त्र  गरेको मण्डलले आरोप लगाए ।   राजपा उम्मेदवार लाल सर्बोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश गिरीशचन्द्र लालका भाई रहेका कारण पनि निर्वाचन  अधिकृत उप्रेती  गिरीश चन्द्र लालको प्रभावमा परेको समेत मण्डलले आरोप लगाए । 
 

उम्मेदवारी दर्ता गर्न नपाएपछि निरास बनेका कलवारले यसलाई जीवनकै ठूलो दुर्भाग्य भएको प्रतिक्रिया दिए । 'जीवनकै ठूलो दुर्भाग्य भयो! टिकट पाएँ, तर उम्मेदवारी दर्ता भएन,' कलवारले लोकान्तरसँग भने ।

प्रस्तावक र समर्थक तथा पार्टी प्रतिनिधिले फारमसमेत भरिसके पनि पार्टीले उपलब्ध गराएको आधिकारिक पत्र र उनको सिग्नेचर नहुँदा रोकिएको थियो ।

पत्र लिएर सिग्नेचर गर्न उनी त पुगे, तर त्यो १५ मिनेट दुर्भाग्य नै सावित भयो ।

salt training

कमेन्ट गर्नुहोस्