
काठमाडौं, २० माघ– प्रदेशसभाको औपचारिक बैठक बोलाइसक्दा पनि दलीय तयारी पर्याप्त हुन सकिरहेको छैन। ६ वटै प्रदेशमा माघ २२ गतेसम्म प्रदेशसभा बैठक गर्ने तयारी छ।
प्रदेश ३ को बैठक भने बिहीबार भइसकेको छ। प्रदेशका अधिकांश सांसद नयाँ छन्। उनीहरूलाई बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पर्याप्त रूपमा सिकाउनुपर्ने भए पनि दलहरूले अहिलेसम्म त्यसको तयारी गरेका छैनन्।
प्रदेशसभाका लागि संसदीय दलको नेतादेखि सभामुख चुन्नेसम्मका मुख्य काम पनि बाँकी नै छ। ती विषयमा पनि दलहरू तातिसकेका छैनन्। प्रदेश १ मा एमालेका ५१, कांग्रेसका २१ र माओवादीका १५ सांसद छन्।
प्रदेश २ मा संघीय फोरम र राजपाका शीर्ष नेता भने प्रदेशसभा बैठक तयारीका लागि जनकपुर पुगेका छन्। मुख्यमन्त्री छनोटदेखि प्रदेशसभा बैठक तयारीबारे निर्णय गर्न शीर्ष नेता महन्थ ठाकुर र उपेन्द्र यादव जनकपुरतर्फ लागेका हुन्। प्रदेशसभा बैठक २१ गते जनकपुरमा बोलाइएको छ। यो प्रदेशमा संघीय फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादीका ११ सांसद छन्।
प्रदेश ३ को प्रदेशसभा बैठक भने बिहीबारै सम्पन्न भइसकेको छ।
प्रदेश ४ को प्रदेशसभा बैठक २२ गते प्रदेशमुकाम पोखरामा बोलाइएको छ। प्रदेशसभाका लागि आवश्यक पर्ने आधाजसो कर्मचारी खटिइसकेका छन्। प्रदेशसभा पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्ने भएका छन्। प्रदेशका सांसदको भेला गरी बैठकमा कसरी जाने तयारी भइनसकेको एमाले नेता तथा प्रदेश सांसद किरण गुरुङले बताए। प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ सांसद छन्।
प्रदेश ५ मा २१ गते प्रदेशसभा बैठक डाकिएकाले सोही दिन बिहान पार्टी बैठकमा तयारीबारे छलफल हुने सांसद शंकर पोखरेलले बताए। सभामुखको निर्वाचन मिति तोक्ने, कार्यासम्पादन नियमावली पास गर्ने तथा सभामुख नहुँदासम्म सभा सञ्चालन गर्ने व्यक्ति तोक्ने एजेन्डा भएकाले पहिलो बैठक औपचारिकतामै सीमित हुने पोखरेलले बताए। प्रदेश ५ मा एमालेका ४१, कांग्रेसका १९ र माओवादीका २० सांसद छन्।
प्रदेश ६ को बैठक पनि २१ गते नै बोलाइएको छ। प्रदेशका एमालेनिकट सांसदको बैठक भने माघ ८ गते बसेको थियो। तर, तयारीबारे अहिलेसम्म केही नगरिएको एमाले नेता यामलाल कँडेलले बताए। प्रदेश ६ मा एमालेका २०, माओवादीका १३ र कांग्रेसका ६ सांसद छन्।
प्रदेश ७ को प्रदेशसभा बैठक २१ गते धनगढीमा बोलाइएको छ। एमालेले सोही दिन सांसदलाई सामान्य ओरियन्टेसन दिने भएको छ। माओवादी केन्द्रले भने बैठक बसेर संसदीय दलको नेता छनोट गरेको छ। प्रदेश ७ को कार्यालय बैठकले त्रिलोचन भट्टलाई संसदीय दलको नेता छनोट गरेको हो। प्रदेश ७ मा एमालेका २५, माओवादीका १४ र कांग्रेसका १२ सांसद छन्, अन्नपूर्ण पोस्टमा खबर छ।