
गुल्मी, २० माघ– लुम्बिनी अञ्चलको सबैभन्दाअग्लो चुचुरो थाप्लेको लेक ८ वर्षपछि संरक्षित वनमा समेटिएको छ । २०६८ सालमा प्रकृया शुरु गरीएको गुल्मीको १ नम्बर क्षेत्रमा पर्ने थाप्ले सत्यवतीशालिमेदह क्षेत्रलाई गएको माघ १० गते मन्त्रीपरीषद बैठकले गुल्मीको ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको हो ।
कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको शालिमे क्षेत्र समेत गरी २६ वडाको बिचमा पर्ने ३७ हजार ८ सय ४३ दशमलव ०६ हेक्टर बन संरक्षित वन भएको वन मन्त्रालयका सचिव डा. यूवकध्वज जिसीले बताए । सांसद सुर्दशन बरालको पहलमा उक्त वन संरक्षित वन घोषणा गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको र अव एक दुई दिनमा राजपत्रमा सूचना प्रकाशित हुने सचिव जिसीले बताए ।
माओवादी पोलिटब्यूरो सदस्य बरालले पहिलो संविधानसभामा सदस्य हुँदा उक्त बनलाई संरक्षित बन बनाउनका लागि पहल शुरु गरेका थिए । बराल सांसद हुँदा २०६८ सालमा उनकै नेतृत्वमा सबै अध्ययन तथा नापजाँच गरिएको थियो । फिजिबिलीटि स्टडी सकिएपनि २०७० पछाडी बराल सभासद नभएपछी पहल गर्ने व्यक्तिको अभावमा घोषणाप्रकृया ढिलो भएको थियो ।
संरक्षित वनक्षेत्र घोषणा गरीए पछि वातावरण संरक्षण र स्थानीयको आयआर्जनमा महत्वपूर्ण कामहुने बरालले बताए । ‘अव क्षेत्रमा भएका महत्वपुर्ण जडिवुटीहरु, वनपैदावर र वन्यजन्तुहरु तथा पर्यावरण र वातावरण संरक्षणका साथै स्थानिय जनसमुदायको आयआर्जन र रोजगारीमा उल्लेख्य अवसर प्राप्त हुन्छ’– सांसाद बरालले भने । संरक्षित बन घोषणा भएपछि थप ठोस नीतिगत योजना र बजेट वारे उनले बन मन्त्रालयसंग परामर्श पनि गरेकाछन् ।
बरालको प्रस्तावपछि शुरु गरेपछि सहयोग गर्दै टिम्बर कर्पोरेसनका तत्कालिन अध्यक्ष भरत बहादुर चन्द, बन मन्त्रालयका तत्कालिन सचिव यूवराज भुसाल, सह सचिव प्रेम कँडेलले समेत साथ दिएर प्रकृया अगाडी बढाएका थिए ।
कसैको नजरमा नपरेको लुम्बिनीको अग्लो चुचुरोमा अव केन्द्रको नै ध्यान जाने र पर्यटन विकास र अवसर सँगै स्थानीय जनजातिलगायत सबैको समृद्धि हुने बरालको विश्वास छ ।
‘थाप्ले सत्यवती’ क्षेत्र स्थानीय स्तरमामात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै महत्व राख्ने टिमुर, चिराइतो, लोक्ता, अल्लो, सुगन्धवाल, सतुवालगायत जडीबुटी तथा अन्य गैरकाष्ठवन पैदावारको संरक्षण र दिगो व्यवस्थापन गरेर आयआर्जन गर्न सकिने प्रचुर सम्भावना छ ।
जनसहभागितामा आधारित सूक्ष्म पारिस्थितिकीय प्रणाली व्यवस्थापनको अवधारणा अनुरुप समग्र वन क्षेत्रको व्यवस्थापनद्वारा प्राकृतिक स्रोत, जलस्रोत तथा जैविक विविधताको संरक्षण, पर्या–पर्यटनको विकास एवं पर्यावरणीय सन्तुलन कायम गर्ने लक्ष्यका साथ ‘थाप्ले सत्यवती’लाई संरक्षित वन घोषणा गरिएको हो ।