
काठमाडौं, २० माघ अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाइएको भएपनि उत्तर कोरियाले विभिन्न सामग्रीहरु निर्यात गरेर अघिल्लो वर्ष २० करोड डलर आम्दानी गरेको छ।
चीन, रुस र मलेसिया सहित कैयौँ देशहरूले उत्तर कोरियाबाट हुने निर्यात रोक्न नसकेको राष्ट्रसंघको एउटा प्रतिवेदनले देखाएको छ।
उक्त प्रतिवेदनका अनुसार उत्तर कोरियाले सिरिया र म्यानमारमा हतियार पठाएको थियो।
प्योङयाङ विरुद्ध अमेरिका, राष्ट्रसंघ र युरोपेली संघले उसका परमाणु तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्रतिबन्ध लगाएका छन्।
तर उक्त प्रतिवेदनमा प्रतिबन्ध लगाएका लगभग सबैजसो सामग्री ज्यानुअरी र सेप्टेम्बर २०१७ का बीचमा उत्तर कोरियाले नियमित रुपमा निर्यात गरिरहेको जनाइएको छ।
सो प्रतिवेदनले नाम उल्लेख नगरी कैयौँ बहुराष्ट्रिय तेल कम्पनीहरुमाथि उत्तर कोरियालाई पेट्रोलियम पदार्थ विक्रि गर्न खेलेको भनिएको भूमिकाका लागि अनुसन्धान जारी राखिएको जनाएको छ।
प्रतिबन्ध लगाइए पनि चीन, मलेसिया, दक्षिण कोरिया, रुस र भियतनामले प्रतिबन्धहरु उल्लंघन गर्दै उत्तर कोरियाबाट कोइला खरिद गरेको प्रतिवेदनमा उल्लेख छ।