२८ असार २०८३, आइतबार

पार्टी एकताबारे बोले प्रचण्ड : भाँड्ने प्रयास भएका छन्

पार्टी एकताबारे बोले प्रचण्ड : भाँड्ने प्रयास भएका छन्


काठमाडौँ, २१ माघ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् । 

अध्यक्ष दाहालले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन हामी प्रतिबद्ध छौँ ।” 

अखिल(क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा छलफल गर्दै अध्यक्ष दाहालले जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने विश्वास व्यक्त गरे  । 

एकता प्रक्रियाबाट बाहिर जाने छुट कोही कसैलाई पनि नभएकामा जोड दिँदै अध्यक्ष दाहालले भने, “एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन ।” पार्टी एकता हुँदैन कि भन्ने अनेकन हल्ला चलिरहेकोतर्फ संकेत गर्दै उनले  दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ नभएको बताए  । 

“भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म आफैँ स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन”, अध्यक्ष दाहालले भने । 

एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन पहल भइरहेको बताए  ।
 

salt training

कमेन्ट गर्नुहोस्