०३ साउन २०८३, आइतबार

प्रदेशसभा भवनअगाडि रातारात 'फुलाइयो' फूल

माघ २२, २०७४
प्रदेशसभा भवनअगाडि रातारात 'फुलाइयो' फूल

धनगढी, २२ माघ- अनुमान लगाउनुस्, फूलको एउटा बिरुवा रोपेको कति समयमा फुल्ला ? धेरै नै छिटो भए एक हप्ता, दुई हप्ता, एक महिना अनि ढिलोमा जतिसम्म पनि । तर धनगढीमा एकै रातमा ढक्कमक्क नानाथरीका फूल फूले ।

प्रसंग हो, प्रदेश नंं. ७ को प्रदेशसभा भवन सिंगारपटारको । प्रदेशसभा बैठकको अघिल्लो दिनसम्म निकै कुरुप, फोहोरमैलाले भरिएको देखिने जिल्ला समन्वय समितिस्थित प्रदेशसभा हल परिसर आइतबार बगैंचामा परिणत भयो । जहाँ नानाथरी फूल रोपिएको छ । वरिपरि सफा, सुग्घर नवदुलही झै सिंगारिएको छ ।

प्रदेशसभा हल मात्र होइन यहाँ स्थापना हुन लागेको प्रदेश प्रमुखको कार्यालयसहित सात मन्त्रालय यसरी नै सिंगारिन थालिएको छ । जुन सिंगारपटारमा खर्चको कुनै सीमा नै छैन् । बजेट भन्दा पनि संरचना खडा गर्ने काम मात्रै भएको बताइएको छ ।

यहाँसम्मकी सार्वजनिक खरिद ऐनमा ५ लाखमुनिको काम टेण्डरविना नै दिन सकिने प्रावधान भए पनि संसद भवन तयार गर्नका लागि विभिन्न व्यवसायीलाई दिइएको कामको रकमसमेत उल्लेख गरिएको छैन ।

निर्माण व्यवसायीहरूलाई रकमभन्दा काम सम्पन्न गर्ने गरी कामको जिम्मा दिएको शहरी विकास डिभिजन प्रमुख तथा प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले जानकारी दिए । उनकाअनुसार विभिन्न कामहरू आठजना निर्माण व्यवसायीहरुलाई दिइएको छ ।

सिंगारपटारकै लागि प्रदेश नं. ७ मा सरकारले करोडौं खर्चिन थालिएको छ । पुराना र निर्माणाधीन सरकारी संरचनाहरू सिंंगारिदै छन् । संरचना मर्मत सम्भार तथा सिंगारपटारको काम एक हप्तादेखि जारी रहेको जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालय, निवास, मुख्यमन्त्री कार्यालय, सभामुख–उपसभामुख, संसद् भवनलगायत आवश्यक मर्मत–सम्भार, रंगरोगन, बगैंचा निर्माणको काम भइरहेको समितिका सदस्य सचिव बोहराले जानकारी दिए ।

हेर्नुहोस् थप तस्बिर-

salt training

कमेन्ट गर्नुहोस्