
काठमाडौँ, २४ माघ- गृह मन्त्रालयले इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराएको प्रकरणमा एसपी विद्यानन्द माझी र इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गर्ने भएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले दुवै जनालाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयबाट सिफारिस आइसकेको उल्लेख गर्दै तत्काल निर्णय हुने जानकारी दिए । ‘सिफारिस आइसकेको छ, निलम्बनको प्रक्रिया निर्णयका क्रममा छ,’ उनले भने ।
सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुस १६ गते वडा नम्बर २ हलगढास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । १० कक्षाकी छात्रा उनलाई उनकै प्रेमी भनिएका जोकम लिम्बू र मनीष श्रेष्ठले बलात्कार गरेका थिए ।
उक्त घटना गुपचुप मिलापत्र गराएको प्रकरणमा प्रहरीद्वारा गठित छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिन दायरामा राखेको थियो ।
त्यतिबेला इलाका प्रहरी कार्यालयको इन्चार्ज रहेका इन्स्पेक्टर चिरञ्जीवी दाहालले पनि घटना सामसुम पार्न भूमिका खेलेका थिए । मिलापत्रको कागजपत्र लुकाउन र अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै गत सोमबार मात्रै दाहाललाई प्रदेश १ को प्रहरी कार्यालय विराटनगर तानिएको थियो ।
यसअघि राजधानीको दरबारमार्गमा भएको अर्को सामूहिक बलात्कार घटना आर्थिक लेनदेनका आधारमा मिलापत्र गराएको भन्दै गृह मन्त्रालयले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गरिसकेको छ, कान्तिपुरमा खबर छ ।