०३ असार २०८३, बुधबार

‘घरबेटी’ ले भाडा बढाए, सांसद भन्छन्– ‘राजधानी’ मा बस्न नसकिने भयो

माघ २५, २०७४
‘घरबेटी’ ले भाडा बढाए, सांसद भन्छन्– ‘राजधानी’ मा बस्न नसकिने भयो

बुटवल, २५ माघ– गुल्मीका प्रदेशसभा सांसद सुर्दशन बरालले एक सातादेखि बुटवलका विभिन्न ठाउँमा डेरा खोजे । प्रदेशसभाको पहिलो बैठक हुनुभन्दा दुई दिन अगाडि बुटवल आएर कोठा खोज्दा उनले २० हजार रूपैयाँभन्दा कम भाडामा फ्ल्याट पाउन सकेनन् । 

त्यसपछि उनी बेलबासमा डेरा लिने निचोडमा पुगे । ‘तीन/चार दिनदेखि मिलनचोक, सुख्खानगर र देवीनगरलगायतका ठाउँमा कोठा हेर्न गए, २० देखि २५ हजार रूपैयाँसम्म हो भन्छन्’ उनले भने, ‘एउटा ३ वटा कोठासहितको फ्ल्याट चाहिने । २०/२५ हजार भन्दा कममा दिन सकिँदैन भन्छन्, घर धनी ।’

उनले २५ हजार रुपैयाँ भाडा तिरेर बुटवलमा सांसद बस्न नसक्ने बताए । अन्य प्रदेश राजधानीमा सांसदहरूलाई विभिन्न छुट दिएका छन् । यहाँ भने राजधानी भएपछि घरधनीले कोठा भाडासमेत बढाए ।’
बर्दियाकी एमाले सांसद कस्नी थारू पनि बुटवलमा कोठा भाडामा लिने सोंचमा छिन् । बर्दियादेखि संसद् बैठकमा आउन जान सम्भवन नहुने भएपछि उनी कोठा भाडामा लिने सोचमा पुगेकी हुन् ।

‘एक/दुई ठाउँमा कोठाको बारेमा बुझेको किचन र कोठालाई मात्र १० हजार रूपैयाँसम्म भन्न भ्याए । त्यति महंगो भाडा कसरी तिर्न सकिन्छ ?’ थारूले भनिन् । राप्ती, भेरी र लुम्बिनी अञ्चल मिलेर बनेको ५ नम्बर प्रदेशमा रूपन्देहीबाहेक अन्य जिल्लाका सांसदहरू कोठा भाडामा खोज्न थालेका छन् । 

५ नम्बर प्रदेशमा रुपन्देहीका १८, नवलपरासीका ६, पाल्पाका ८, अर्घाखाँचीका ४, गुल्मीका ४, कपिलवस्तुका १२, दाङका १०, प्युठानका ४, बाँकेका १०, बर्दियाका ६, रोल्पाका २ र रुकुमका ३ गरी ८७ सांसद छन् । 
नयाँ ठाउँको वातावरण र संसद् दुवै सांसदहरूलाई नौलो लागेको छ । आफूहरु गाउँले परिवेशबाट आएकोले संसद् भवनमा छिर्दा नौलो अनुभूति भएको थारुले प्रतिक्रिया दिइन् ।

बर्दियाकी माओवादी केन्द्रकी सांसद लौती थारूलाई पार्टीले समानुपातिकबाट सांसद बनाए पनि अहिले उनलाई बुटवलमा कसरी भाडामा लिएर बस्ने चिन्ता छ । उनी शपथ ग्रहणको लागि माघ ६ गते बुटवल आइन् । ७ गते सपथ ग्रहण गरेर त्यसै दिन बर्दिया फर्किन् । २१ गतेको पहिलो बैठकका लागि २० गते राति बुटवल आइन् । २१ गते बुटवलको पहिलो प्रदेशसभा बैठठक सकेर उनी बर्दिया फर्किँदै छन् । 

राष्ट्रियसभा निर्वाचनमा मत राख्न दाङ रहेकी उनले भनिन्, ‘बुटवलमा डेरा खोज्न थालेको पाउनै मुस्किल भो । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि दाङ आएकी छु । घर (बर्दिया ठाकुरबाबा–५) पुगेर लगत्तै बुटवल आएर कोठा खोज्ने हो । तर,महंगो रहेको धेरै साथीहरूबाट सुनेकी छु ।’ बर्दियाका सबै सांसदहरूले सकेसम्म एकै ठाउँमा डेरा खोज्ने तयारी भएको थारूले जानकारी गराइन् । 

राष्ट्रिय जनमोर्चाकी प्यूठानबाट प्रतिनिधत्व गर्ने सांसद तारा जिसीले पार्टी कार्यकर्ताहरूलाई डेरा खोज्न निर्देशन दिएकी छन् । उनले भनिन्, ‘पहिलोपटक सांसद भइएको छ । बुटवलमा डेरा भाडामा लिएर बस्ने खान सकिएलाजस्तो छैन । सबै क्षेत्रमा महंगी छ ।’ सांसदहरू पहिलो बैठक सकिएपछि आ–आफ्नो गृह जिल्लातर्फ फर्केका छन् । फागुन २ गते हुने अर्को सभामुखको निर्वाचन हुने गरी अर्को बैठक बस्दै छ । 

salt training

कमेन्ट गर्नुहोस्