
काठमाडौं, २५ माघ– आकाक्षी धेरै भएपछि प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार छान्न एमालेलाइ सकस परेको छ । माओवादी केन्द्रसँगको सहमतिमा चारवटा प्रदेशमा मुख्यमन्त्री पाउने सहमति गरेको एमालेले तीन वटा प्रदेशमा संसदीय दलको नेता छान्न सकेको छैन ।
सर्वाधिक विबाद रहेको प्रदेश १ र ३ मा भोलि (शुक्रवार) संसदीय दलको बैठक बस्दैछ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा पार्टी सचिव भीम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राइले दाबी गरिरहेका छन् । दुई नेताबीचको विबादका कारण तेस्रो पक्षले मुख्यमन्त्री पाउने सम्भावना पनि रहेको एमाले स्रोत बताउँछ ।
संसदीय दलको नेताका लागि मतदानको अबस्था आए माधवकुमार नेपाल पक्षका जीवन घिमिरेले उम्मेदवारी दिने बताएका छन् । यो प्रदेशमा माधव नेपाल पक्षका सांसदको संख्या बढी छ । अध्यक्ष ओली समूहका शेरधनलाई मुख्यमन्त्री र माधव नेपाल समूहकी उषाकला राईलाई सभामुख बनाएर सहमतिको प्रयास भइरहेको एमाले स्रोतको भनाइ छ ।
सहमति नभए शुक्रवार मतदानबाट निर्णय हुनेछ । एमाले स्थायी समितिको बैठकले सहमति नभएको स्थानमा मतदानबाट नेता छान्ने निर्णय गरेको थियो । प्रदेश नम्बर ५ र ६ मा क्रमश शंकर पोखरेल र यामलाल कडेंल संसदीय दलको नेता छानिएका छन् । प्रदेश नम्बर ५ मा पोखरेल मुख्यमन्त्रीका एकमात्र दावेदार छन् ।
मुख्यमन्त्रीमा विबाद रहेको प्रदेश नम्बर ३ मा शुक्रवार संसदीय दलको बैठक बस्दैछ । मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य र पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले दावी नछाडेपछि प्रदेश नम्बर ३ मा पनि नेता छान्न मतदानको सम्भावना बढेको एमाले नेताहरु बताउँछन् । मतदानको अबस्था आएमा डोरमणि पौडेल, पशुपति चौलागाइ, सानुकुमार श्रेष्ठ, केशव स्थापितले समेत दावी पेश गर्ने जनाएका छन् ।
तीन नम्बर प्रदेशमा ओली समूहको बहुमत सांसद् छन् । प्रदेश नम्बर १ मा शेरधन र ३ मा अष्ठलक्ष्मीलाई मुख्यमन्त्री बनाउने गरी प्रयास भइरहेको एमाले स्रोतले बतायो । सहमति नभएमा शुक्रवार मतदान हुनेछ ।
मुख्यमन्त्रीको विबाद रहेको प्रदेश नम्बर ४ मा भने २८ गते आइतवार संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेताका लागि सचिव पृथ्वी सुव्वा गुरुङ र नेता किरण गुरुङले दावी गरेका छन् । दुवैले दावी नछाडेपछि आलोपालो र गोला प्रथाद्वारा नेता छान्ने चर्चा पनि एमालेमा चलेको थियो । शनिवारसम्म सहमति नभएमा त्यहाँ पनि चुनाव बाटै दलको नेता चुन्ने एमालेको तयारी छ ।