
काठमाडौं, १ फागुन– आज हिन्दूहरुको पर्व शिवरात्रि । शिवरात्रिमा शिवको प्रसादको रुपमा गाँजा प्रयोग गरिन्छ । गाँजा थोरै मात्रामा प्रयोग गर्दा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । यी हुन् गाँजाका प्रभाव ।
-मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्त्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेनट (उत्तेजित) गर्ने अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रासायनिक तत्त्वले प्रभाव पैदा गर्दछन् ।
भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।
-मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग–अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाका धेरै रसायनमध्ये टेट्रहाइड्रोक्यानाविलोन (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।
यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी हराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ ।
जस्तै, हाँस्यो भने हाँसिको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि ।
क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डापामाक्ष्न प्रक्रियालाई पनि प्रभावमा पार्छ । यतिखेर आनन्दको भाव जगाउँछ ।
-गाँजा भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छन् । केही बेरपछि फरक–फरक असर देखाउन थाल्छन् । त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ ।
निरन्तर सेवन गर्दा...
-लामो समय गाँजा सेवन गर्दा मानसिक रोगको सम्भावना बढ्दै जान्छ । वर्षौसम्म गाँजा सेवन गर्दा डिप्रेसन, आत्तिनेजस्ता समस्या हुन्छ । गाँजा सेवनले साइकोसिस हुने पनि प्रबल सम्भावना हुन्छ ।
-डेनमार्कमा गरिएको अनुसन्धानले के देखाएको छ भने गाँजा सेवनकर्तामा साइकोसिस त हुन्छ तर सेवन बन्द गरेपछि छोटो समयमा निको पनि हुन्छ ।
-गाँजाले जाँगर नचल्ने र केही गर्न मन नलाग्ने खालको समस्या पनि विकसित हुँदै जान्छ । यस्ता मानिसले कुनै कुराको पनि मतलब गर्दैनन् ।
-हालसालै भएका अन्य अनुसन्धानले लामो समयसम्म गाँजा प्रयोग गर्ने मानिसलाई रोग लाग्दा औषधिले पनि राम्रोसँग काम नगर्ने देखाएको छ ।
-समग्रमा भन्दा गाँजाले मस्तिष्कमा नकारात्मक असर पुर्याउँछ ।
नयाँ पत्रिकाबाट