
बुटवल, १ फागुन-प्रदेश नम्बर ५ को सभामुख माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्ती मगरको उम्मेदवारी परेको छ । वाम गठवन्धनले रुकुम पूर्वबाट निर्वाचित सांसद घर्तीको उम्मेदवारी प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका हुन् ।
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने छन्, भने सर्मथकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेका छन् ।
यो प्रदेशमा एमाले–माओवादीसँग स्पष्ट बहुमत छ । घर्ती सभामुख बन्ने पक्कापक्की देखिएको छ ।

सभामुख चयनका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ । बुधबार बस्ने दोस्रो बैठकको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
उम्मेदवारी दर्तापछि घर्तीले पदीय जिम्मेवारी अनुरूप काम गर्ने बढाए । ‘पदीय जिम्मेवारी अनुरूप प्रदेशसभाको गरिमालाई बढाउने गरी काम गर्नेछु,’ घर्तीले थपे, ‘निष्पक्षरूपमा काम गर्ने मेरो सोच छ । त्यही अनुरूप नै प्रदेश नम्बर ५ को संसदलाई अगाडि बढाउनेछु ।’
उम्मेदवारी मनोनय दर्ता गर्ने समय मंगलबार साँझ ५ बजेसम्म छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने कुनै निर्णय नगरेको बताइएको छ ।
साँझसम्म अर्को उम्मेदवारी नपरेमा घर्ती निर्विरोध निर्वाचित हुनेछन् ।
को हुन घर्ती ?
सभामुखमा उम्मेदवारी दर्ता गराएका पूर्णबहादुर घर्ती पूर्वी रुकुम प्रदेशसभा (ख) बाट विजयी बनेका हुन् । माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका–९ रुकुममा ०२४ असार २९ मा जन्मिएका हुन् । वीरबहादुर र जयकली घर्तीका छोरा उनी ०३६ सालबाट राजनीतिमा लागेका थिए ।
२०६१ सालतिर ‘कसले भन्छ, यहाँ क्रान्ति सफल हुँदैन....’ भन्ने गीत खुबै चर्चामा थियो । उक्त गीत घर्तीले नै गाएका हुन् ।
१७ वर्ष जनसांस्कृतिक समूहमा रहेर साहित्य र गीतबाट क्रान्तिको विगुल फुक्ने घर्तीले प्रदेशको सभामुख भएर संसद हाँक्दै छन् ।
उनले ०४६ को आन्दोलन, ०४७ देखि ०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।