०८ असार २०८३, सोमबार

प्रमुख समाचार : कालो धनलाई छुट नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता, सातै प्रदेशमा मुख्यमन्त्री चयन

प्रमुख समाचार : कालो धनलाई छुट नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता, सातै प्रदेशमा मुख्यमन्त्री चयन

काठमाडौं, ४ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा ओलीले शपथ लिए ।

प्रधानमन्त्री ओली– सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो शिक्षालय स्थापना गर्ने निर्णय गरेका हुन् । 
प्रधानमन्त्रीले संघीय संसद् भवन निर्माणको प्रक्रिया शुरु भएको जानकारी पनि दिए । सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हित विपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने प्रधानमन्त्रीको कथन थियो । 
कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने स्पष्ट गर्दै उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएकामा दुखेसो गरे ।

पण्डित र थापा मन्त्री– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराइन् । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलको सचेतक थिए । 

मन्त्रिपरिषद्को निर्णय– प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक÷व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले बताइन् । 
बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको छ । 

माओवादी सरकारमा गएन– नेकपा माओवादी केन्द्र केपी ओलीले नेतृत्व गरेको सरकारमा तत्काल सहभागी नहुने भएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमालेसँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताए ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट पारे ।


चीन र भारतकाे बधाई– प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र चीन र भारतले बधाई दिएका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाउँदै ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् । 
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बिहीबार राति साढे १० बजे टेलिफोन गरेर ओलीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । 
टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

देउवाको राजीनामा– शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएपछि बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै देउवाले पदबाट राजीनामा दिएको घोषणा गरे । 
सम्बोधनका क्रममा उनले संविधान कार्यन्वयनका लागि राज्यका तीनवटै तहको निर्वाचन गर्न सफल भएको बताए । संविधानलाई अस्वीकार गर्दै आएका मधेसकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर निर्वाचनमा सहभागी गराएको र प्रदेश नम्बर दुईमा समेत निर्वाचन गराउनुलाई उनले मुख्य उपलब्धिको रुपमा लिएको बताए ।


राष्ट्रपति निर्वाचन प्रक्रिया– निर्वाचन आयोगले फागुनको अन्त्यसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेको छ । दलहरुसँग बिहीबार भएको छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति प्रस्ताव गरेको हो । 
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा आयोगमा राजनीतिक दलका नेताहरूसँग छलफल भएको आयोगले जनाएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन पनि उम्मेदवारहरुलाई भनेको छ । 


सातै प्रदेशमा मुख्यमन्त्री– देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । प्रदेश नं. ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट बिहीबार मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएका हुन् ।
यसैगरी, प्रदेश नं. १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले ५ जनालाई मन्त्रीमा नियुक्त गरे । त्यहाँ एमालेका हिक्मत कार्की आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना, एमालेका जगदिश कुशियत उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरे सामाजिक विकास मन्त्री नियुक्त भए ।
यस्तै प्रदेश नम्बर २ का नवनियुक्त मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक मामिला तथा योजना मन्त्रीमा विजयकुमार यादव र भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरे ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका हुन् । 
यसैबीच, प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 

सेयर बजार– नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार बिहीबार हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । 
नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । 


खेल खबर– आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भयो ।
दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो । 
जीतसँगै युएइले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्