
सुर्खेत, ४ फागुन– प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको रपमा माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद महेन्द्रबहादुर शाहीले शुक्रबार सपथग्रहण गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश र जनताको नाममा पद तथा गोपनीयताको सपथ लिए । नेकपा एमालेको सर्मथनमा चयन भएका मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ ग्रहण गराएका हुन् ।
यसैबीच, शुक्रबार नै मूख्यमन्त्री शाहीले पदबहाली गरेका छन् । सपथ ग्रहणलगतै क्षेत्रीय प्रशासन कार्यालयको भवनमा रहेको मूख्यमन्त्रीको कार्यालयमा पुगेर उनले पदबहाली गरेका हुन् ।
माओवादीका युवा नेता महेन्द्रबहादुर शाही कालीकोट (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी यसअघि उर्जामन्त्री समेत भएका थिए ।
‘सबैसँग मिलेर समृद्ध प्रदेश बनाउछौँ’
मुख्यमन्त्री शाहीले समृद्ध प्रदेश निर्माणकालागि सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए । मूख्यमन्त्रीको कार्यालयमा पदबहाली गरिसकेपछि पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले ६ नं. प्रदेश अन्य प्रदेशभन्दा बेग्लै भएकाले समृद्धिमा थुप्रै चुनौति रहेको बताए ।
उनले अरुसंग प्रतिस्पर्धा नगरी अघि बढ्न नसकिने उल्लेख गर्दै ६ नं. प्रदेश समृद्धिका लागि भएका चुनौतिहरु प्रतिस्पर्धाका माध्यमबाटै समाधान गर्ने बताए ।
उपसभामुखका लागि घर्तीको उम्मेदवारी
प्रदेश नम्बर ६ को उपसभामुख पदमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्तीको एकल उमेदवारी परेको छ । नेकपा एमालेकी सांसद मिनासिंह रखालको सर्मथक तथा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी प्रस्तावक रही घर्तीले शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराएकी हुन् ।
भोलि (शनिवार) दिउँसो १ बजे बस्ने प्रदेशशभाको चौथो वैठकले घर्तीलाई उपसभामुख चयन गर्नेछ ।
उपसभामुखमा मनोनयन दर्ता गरेकी घर्तीले सबैलाई मिलाएर सबल प्रदेश निर्माणको यात्रामा अघि बढ्ने बताइन । ‘हाम्रो प्रदेशमा अभावै अभाव छ,’ उनले भनिन्, ‘ती अभावहरुको पूर्ति गर्न संसदमा रहेका सबै उकजुट बन्नुपर्नेछ । हामी तयो वातावरण बनाउन लाग्नेछौं ।’