
महेन्द्रनगर, ११ फागुन– भीमदत्त नगरपालिकाले सहिद, विभूति तथा विभिन्न क्षेत्रमा ख्यातीप्राप्त गरेका व्यक्तित्वहरुको सम्मानमा पुरस्कार स्थापना गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बसेको १२ नगर कार्य पालिका बैठकले पुरस्कार घोषणा गरेको हो ।
सहिद दशरथ चन्द , भीमदत्त पन्त, जय पृथ्वीबहादुर सिह, पहलमान सिह स्वाँर, बाकाबीर, गोविन्द गौतम, पूर्व मन्त्री द्वारिकादेबी ठकुरानी, र वरिष्ठ पत्रकार राम बहादुर चन्दको नाममा पुरस्कार स्थापना गरिएको छ । उनीहरुमध्ये पत्रकार चन्द बाहेक सबै दिवंगत हुन् ।
सहिद चन्द, गौतम र पन्तको नाममा १५ हजार र अन्यको नाममा ११ हजार धनराशीको पुरस्कार स्थापना गरिएको छ । शुक्लाफाँटा निकुञ्जको शुक्लाफाँटा क्षेत्रमा बैठक बसेको थियो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पुरस्कार स्थापना सम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि छलफल गरी बैठकबाट पारित गरिएको छ ।
भीमदत्तका मेयर विष्टले पुरस्कार स्थापनाले समाजका विभिन्न क्षेत्रमा योगदान दिने, सहिदको सम्मान हुने र त्यसले समाजका सकारात्मक सन्देश प्रवाह हुने बताए । ‘यो वहाँहरुको कामको सम्मान हो, यसबाट वहाँहरुले देखाएको बाटोमा जान सकारात्मक सन्देश जान्छ,’ मेयर विष्टले भने ।
मेयर विष्टले कार्य विधि बनाएर पुरस्कार वितरण छनौट गरिने बताए । ‘यसका लागि छनौट कार्य विधि बनाउँछौ’ उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन र सरोकारवाला निकायसित छलफल गरी कार्यक्रम सञ्चालनका लागि शुक्लाफाँटा निकुञ्जमा कार्यक्रम गरिएको मेयर विष्टले बताए ।
शुक्लाफाँटा निकुञ्जमा बसेको पहिलो बैठक हो । मेयर विष्टले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालालाई प्रष्टता आउने बताए । ‘यो कार्यपालिकाको पहिलो बैठक हो, यसलाई सरोकारवाला निकायलाई स्पष्टता आउँछ’ उनले भने ।
नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण तथा वन र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । ‘निकुञ्जमा वन्यजन्तु र स्थानीयबीच द्वन्द्व छ, बालीनाली भित्र्याउन पाएका छैन’ उनले भने,‘यो द्वन्द्व न्यूनीकरण र यस क्षेत्रमा वैकल्पिक खेती प्रणाली कार्यक्रम सञ्चालन गर्नु सहज हुन्छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि भावी योजना बनाउन पनि बैठक बसेको मेयर विष्टले बताए ।
बैठकमा भीमदत्त नगरपालिका उप मेयर सुशिला चन्द सिह, कार्य पालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत बैठकमा सहभागी भए । कार्यपालिका बैठकमा नगर प्रमुख विष्टले सहभागीहरुलाई धन्यवाद दिए । भीमदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले शुक्लाफाँटा ऐतिहासिक बैठक भएको बताए । ‘यो ऐतिहासिक बैठक हो, यसले सहिद, विभूति, पत्रकारितता सहित विभिन्न क्षेत्रमा योगदान पुगाएका व्यक्तिरुको सम्मानमा पुरस्कार घोषणा गरेका छौ,’ उनले भने,‘यसले शुक्लाफाँटा निकुञ्जको पर्यटन प्रवद्र्धन सहयोग पुग्छ ।
नगरपालिका बैठकको अध्यक्षतामा मेयर सुरेन्द्र्र विष्टले गरेका थिए । बैठकमा भीमदत्त नगरपालिका वार्ड नं. १३ का अध्यक्ष लाल बहादुर शाही, वार्ड नं. ७ का अध्यक्ष शंकर कुँबर, वार्ड नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वार्ड नं. १९ का दामोदर महरा, कार्यपालिका सदस्य द्रोपती जोशी, प्रताप तिरुवा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकपछि मेयर विष्टले भीमदत्त नगरपालिका–१४ नयाँ कटानस्थित राना थारु होमस्टेको अनुगमन गरेका छन् ।