२२ असार २०८३, सोमबार

मातृकाको राजनीतिक यात्रा–पार्टीमा विद्रोहदेखि एलडीओलाई ट्वाइलेटमा थुन्नेसम्म

फागुन १४, २०७४
मातृकाको राजनीतिक यात्रा–पार्टीमा विद्रोहदेखि एलडीओलाई ट्वाइलेटमा थुन्नेसम्म

काठमाडौं, १४ फागुन– माओवादी केन्द्रका तर्फबाट धनुषा एकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका मातृका यादव केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । यादवलाई उद्योग,वाणिज्य तथा अपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

वातावरण विनाश हुनेगरि अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारवाही नगरेभन्दै ललितपुरका तत्कालिन एलडीओ (स्थानीय विकास अधिकारी) लाई ट्वाइलेटमा थुनेका कारण चर्चामा आएका थिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएका यादव पछि पुन प्रचण्ड नेतृत्वको माओवादी मानै फर्किएका थिए । 


को हुन् मातृका यादव ?

२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विस २०३६–३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । 

त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थी उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका भूमिगत थियो, संगठन । 

राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थी भन्दापनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटव्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गिय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए ।    त्यसताका उनले सवैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए । 

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखेको थियो । त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए । 

जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण गर्न गएको थियो । त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएका थिए । विस २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विस २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आईपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रुपमा पार्टीमा सक्रिय भइसकेका थिए । 

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गर्यो । त्यसताका मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसँख्यकको माग थियो । त्यस्ताका मातृका क्षेत्रिय व्यूरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण शुरु गर्यो । त्यसमा पनि उनी सक्रिय रहे । फेरी उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राख्यो । 

पार्टी पातलो मसाल, मोटो मसाल हुदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रिय समितिमा ल्याउने कुरा भयो । उनी रामबृक्ष यादव मास्टर साहेबलाई केन्द्रिय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन् ।

 २०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत भयो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई वेपत्ता पारियो । २०५८ मा फेरी उनी जेलमा परे । २०५९ मा सरकारसंग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरी दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे  । 
उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजिनामा दिएर हिडेका थिए । 

 २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । त्यसबेला भूमी तथा व्यवस्था मन्त्री भएका थिए । त्यतिबेला पनि सरकारबाट आफूलाई काम गर्नमा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजिनामा दिएका थिए । पछि उनी पार्टीबाट नै अलग भए । 

पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजिनामा दिएका थिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे । 

मधेश आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेशमा आन्दोलन शुरु गरेका थिए । मधेशवादी दलहरुले आन्दोलन शुरु गर्दा उनी त्यसअघि देखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेशवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानु पर्छ भनि उनले निकै प्रयास गरेका थिए त्यही प्रयास स्वरुप एकपटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

एक मधेश एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्य सहित उनी मधेशका इन्चार्ज पनि भए । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छ । 

उनी माओवादी केन्द्रको तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रीमण्डलमा सहभागि भएका हुन् । 

मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्