०३ असार २०८३, बुधबार

दोस्रो एकदिवसीयमा इंग्ल्यान्डले हरायो न्युजील्यान्डलाई

फागुन १६, २०७४
दोस्रो एकदिवसीयमा इंग्ल्यान्डले हरायो न्युजील्यान्डलाई

काठमाडौं, १६ फागुन — न्युजील्यान्ड भ्रमणमा रहेको इंग्ल्यान्डले बुधवार माउन्ट माउनगानुईमा सम्पन्न दोस्रो एकदिवसीयमा ६ विकेटको विजय प्राप्त गरेको छ । 

टस जितेर फील्डिङ रोजेको इंग्ल्यान्डले न्युजील्यान्डलाई ४९.४ ओभरमा २२३ रनमा सीमित गरिदिएको थियो । जवाफमा इंग्ल्यान्ड ३७.५ ओभरमा चार विकेट गुमाएर २२५ रन बनाउन सफल भयो ।

इंग्ल्यान्डलाई जीत दिलाउनका लागि बेन स्टोक्सको प्रमुख भूमिका रह्यो । उनले आठ ओभरमा ४२ रन दिएर दुई विकेट लिए अनि ७४ रनमा ६३ रन पनि बनाए ।

स्टोक्सको ६३ रनबाहेक कप्तान इयन मोर्गनको ६२, जोनी बेयरस्टोको ३७ र जोसेफ बटलरको ३६ रनको पनि इंग्ल्यान्डको जीतमा योगदान रह्यो । 

न्युजील्यान्डका लागि ट्रेन्ट बोल्टले दुई तथा लोकी फर्गुसन र कोलिन मुनरोले एक एक विकेट लिए । 

यसअघि ब्याटिङ गरेको न्युजील्यान्डका लागि मिचेल स्यान्टनरले ५२ बलमा ६३ रन, मार्टिन गुप्तिलले ५० अनि कोलिन डे ग्य्रान्डहोमले ३८ बनाए । जम्मा नौ रनमा दुई विकेट गुमाएको न्युजील्यान्डको नियमित रूपमा विकेट झर्दै गयो र मध्यम स्कोर मात्र बन्न सक्यो ।

ब्याट्स्म्यानहरूको तालमेल नमिल्दा तीनवटा रनआउट हुन पुग्यो ।

इंग्ल्यान्डका लागि स्टोक्सबाहेक क्रिस वोक्स र मोईन अलीले पनि दुई दुई विकेट लिए ।

पहिलो एकदिवसीयमा तीन रनले हारेको इंग्ल्यान्डले यो जीतसँगै शृंखला बराबरीमा ल्याएको छ । तेस्रो एकदिवसीय वेलिङटनमा फागुन १९ गते खेलिनेछ ।
  

salt training

कमेन्ट गर्नुहोस्