
काठमाडौं, १६ फागुन– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा बुधवार सहमति जुट्न सकेन । सत्तारुढ नेकपा एमाले तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बुधवार भएको बैठक विना निष्कर्ष टुंगिएको हो ।
फोरमलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शिर्ष नेताको बैठक बुधवार सिंहदरवारमा बसेको थियो । बैठकमा सहभागी नेताहरुले सकरात्मक कुराकानी भएपनि कुनै सहमति भने हुन सकेन ।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकरात्मक भए पनि समय अभावका कारण कुनै सहमति नभएको बताए । बिहिबारको बैठकमा सहमति हुने उनको भनाइ छ ।
फोरमसँग थप छलफल गर्न बिहिबार विहान ९ बजेट बैठक बोलाइएको छ । संविधान संशोधनका लागि एमाले र माओवादी केन्द्र सकरात्मक भएको बताइएपनि मन्त्रालय र अन्य पदहरुको बाँडफाटमा थप छलफल रहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता नदिई फोरम नै कुरेर बसेको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रहरीको डायरीमा लेखिएको राजेन्द्र खड्कीको नाम
नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पत्रकारसँगको भेटमा आफू विश्वकै सवैभन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गर्ने कलाकार भएको दावी गर्थे । ५०० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेको दावी गर्ने खड्गी केही वर्षमै आफ्नो नाम ‘गिनिज बूक अफ वल्र्ड रेकड’मा लेखिने बताउँथे ।
तर अहिले उनको नाम गिनिज बूकमा नभइ प्रहरीको डायरीमा लेखिएको छ, मानव तस्करी गर्ने अभियुक्तको रुपमा । कलाकारको आवरणमा मानव तस्करी गरेको अभियोग छ, खड्गीमाथि । अभियोग प्रमाणित भए उनले २० वर्ष जेलमा बिताउनुपर्नेछ ।
माघ दोस्रो सातातिर नेपालस्थित दक्षिण कोरियाली राजदूतावासले नेपाल प्रहरीलाई पत्र लेख्दै ११ जना नेपाली दक्षिण कोरियामा अलपत्र रहेको उल्लेख गर्यो । प्रहरी प्रधान कार्यालयले उक्त पत्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई ‘फरवार्ड’ गर्यो । पत्रमा डकुमेन्ट्री सूटिङका १३ जना नेपाली कलाकारको टोली कोरिया पुगेको र २ जना मात्रै नेपाल फर्किएको उल्लेख थियो । उक्त टोलीको नेतृत्व नेपाली चलचित्रका द्वन्द्व निर्देशक खड्की गरेको पनि कोरियाली दूतावासले पत्रमै लेखेको थियो ।
पत्र पाएसँगै सिआईबीको टोलीले खड्गीमाथि निगरानी बढायो । करिब १ हप्तासम्म अनुसन्धान गर्दा सिआईबीको टोलीले निष्कर्श निकाल्यो, खड्कीले नियतवस नै ११ जनालाई कोरिया छाडेर आएका हुन् । कोरिया जाँदा खड्कीसँगै अन्य १२ जना गएका थिए । खड्की र उनीसँगै गएका दिव्यराज सुवेदी नेपाल फर्किए पनि ११ जना उतै रहे ।
खड्गी गत भदौ १४ गते (३० अगस्ट २०१७) का दिन अन्य १२ जनासहित त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया उडेका थिए । उनी त्यहाँ करिब ११ दिन बसेर भदौ २६ गते (११ सेप्टेम्बर २०१७) मा नेपाल फर्किए ।
कराँतेको विषयमा सर्ट फिल्म (डकुमेन्ट्री) बनाउने भनेर भनेर ३ महिनाको भिषामा कोरिया गएका खड्गी ११ दिनमै नेपाल फर्किनु शंकास्पद थियो नै उनीसँगै गएका १२ मध्ये ११ जना नफर्किनुले उनले केही गलत गरिरहेको प्रहरीले निष्कर्ष निकाल्यो । लगत्तै माघ २३ गते सिआईबीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गर्यो ।
प्रदेश २ र ३ मा मन्त्रिपरिषद् विस्तार
प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बुधबार नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए ।
यस्तै प्रदेश २ को पनि मन्त्रिमण्डल बुधबार दोस्रो पटक विस्तार भएको छ ।
राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री थपिएको हो ।
राजपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले सामाजिक विकास मन्त्रालय र वरिष्ठ नेता रामनरेश रायले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भइसकेका छन् ।
त्यसैगरी, संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साह नियुक्त भएका छन् । यसअघि नै फोरमबाट विजयकुमार यादव आर्थिक ममिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।
फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र सामाजिक विकास राज्यमन्त्री उषा यादवले आ–आफ्नो पदको शपथ लिएका छन् ।
राज्यमन्त्री भने होली पर्वपछि मात्रै थप्ने राजपाको योजना छ ।
बैंकिङ कसुरमा २ जना पक्राउ
विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पुर्याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् ।
सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरीसार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो ।
सोही घटनामा संलग्न भन्सार एजेन्ट सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका विराटनगर–७ को सातघुम्ती बस्ने ४६ वर्षीय सुरेश बोहरा र ललित बोहरा फरार भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय
सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता महत्वपूर्ण सूचकांकमा सुधार ल्याउन अझै समय लाग्ने भएकाले उक्त प्रस्ताव सन् २०२१ मा लान लागिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
विकासशील राष्ट्र हुन कूल राष्ट्रिय आय, मानवीय संसाधनको विकास र आर्थिक जोखिमको अवस्था गरी तीन मुख्य सूचकांक रहेका र तीमध्ये मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएकाले तत्कालै विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने अवस्था विद्यमान नरहेको उनले जानकारी दिए ।
नेपाललाई अझै पनि सहुलियतपूर्ण अन्तर्रा्ष्ट्रिय सहयोग तथा व्यापारमा सहजीकरणको आवश्यकता भएकाले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको मन्त्री खतिवडाले बताए ।
‘छ दशकपछि दुई तिहाइको सरकार बन्दै’
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्मा बजारमा बुधबारदेखि शुरु भएको दसौँ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताए । अब सरकार दुई तिहाइको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिबेला चटारो रहेको उनले उल्लेख गरे । उनले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केही दिन पहिलेको सात बुँदे सहमति र कार्यदलको पछिल्लो प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दल पनि सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने बताए ।
उनले एक÷दुई दिनमै मधेशवादी दलसहितको सरकारले पूर्णता पाउनेबताउँदै मधेशवादी दलसँग संविधान संशोधनलगायत केही विषयमा सहमति हुन बाँकी रहेको स्पष्ट पारे ।
प्रहरीलाई निर्देशन
गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि बुधबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए ।
प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उनले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाए ।
मानहानी मुद्दामाथिको आदेश सच्याउन आग्रह
नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत भएकाले त्यसलाई सच्याउन आग्रह गरेको छ ।
महासंघले एक विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन÷प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ हुने भन्दै त्यस्तो बन्देजका विरुद्ध उभिने दृढता व्यक्त गरेको छ ।
“पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ, लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुनसक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको छ,” महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो, नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ” विज्ञप्तिमा उल्लेख छ ।
साथै महासंघ पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र सञ्चारमाध्यमको आचारसंहिता पालनाप्रति सबै सञ्चारमाध्यमको सजगता र प्रतिबद्धताप्रति विश्वस्त रहेको जनाएको छ ।
तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै
परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ ।
फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सके ।
ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका उनी ८८ वर्षीय पिता पनि पाँच दिनमै क्रिया सक्न सहमत भएकाले सजिलो भएको बताउँछन् । पाँच दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए ।
यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार पाँच दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि पाँच दिनमा सकिएको थियो ।
विसं २०७२ मा संस्कार सुधार समाज स्थापना भई पाँच दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेलले १३ दिनमा गरिने कर्म केही पनि नघटाई पाँच दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको दाबी गरे ।
वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।
मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा (क्रान्तिकारी माओवादी)की जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको चारबुँदा सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ ।
यस्तै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ ।