
काठमाडौं, २० फागुन– नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको आज सातौँ स्मृति दिवस । विसं २०६७ साल फागुन २० गते राति भट्टराईको निधन भएको थियो ।
स्व. भट्टराईको जन्म स्व. पिता संकटाप्रसाद र स्व. माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो । झण्डै २० वर्ष नेपाली काँग्रेसको नेतृत्व सम्हालेका किसुनजी सादगी नेता थिए । उनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चातको पहिलो प्रधानमन्त्री थिए ।
भट्टराई वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए । उनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरे । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।
भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व उनले सफलता पूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा भट्टराईले आफू भनें काठमाडौँबाट पराजित भएका थिए ।
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता भएका भट्टराई पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे । सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन् । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा उनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए ।
उनका अनुयायीहरु अहिले कांग्रेसको नेतृत्वतहमा भए पनि उनको आदर्शलाई भने पछ्याउन नसकेको गुनासो सर्वत्र छ । सातौं वार्षिकीका सन्दर्भमा कांग्रेसका नेता तथा कार्यकर्ताले विविध कार्यक्रम गरी भट्टराईलाई सम्झदै छन् । तर आफ्ना संस्थापक नेताको स्मृतिमा कांग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना नगरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काँग्रेस नेतृत्वमा नैतिकताको खडेरी बढ्दै गएकाले भट्टराईलाई विर्सिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी छ ।