२४ असार २०८३, बुधबार

प्रदेश १ ले छुट्टै पात्रो बनाउने, केन्द्र सरकारले तोकेका सार्वजनिक बिदा कटौती गरिने

फागुन २०, २०७४
प्रदेश १ ले छुट्टै पात्रो बनाउने, केन्द्र सरकारले तोकेका सार्वजनिक बिदा कटौती गरिने

बिराटनगर, २० फागुन– प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठकले आगामी सय दिनको कार्यक्रम ल्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले अब हरेक बिहीवार मन्त्रिपरिषद बैठक बस्ने निर्णय समेत गरेको छ । 

बिहीवारको बैठकले १०० दिने कार्यक्रम ल्याउने निर्णय गरेपनि कार्यक्रम भने आगामी मंगलवार मात्रै सार्वजनिक गरिनेछन् । 

मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले चालु आर्थिक वर्षको असारसम्मको बजेट तर्जुमा गरी पारित गर्ने निर्णय गरिएको बताए । चैत १५ गते सरकारले चालु आर्थिक वर्षको बजेट ल्याएर पारित गर्ने उनले बताए  ।

प्रदेशस्तरमा नयाँ पात्रो

त्यस्तै आगामी वर्ष २०७५ को लागि प्रदेशस्तरबाट नयाँ क्यालेण्डर (पात्रो) आउने भएको छ । त्यसका लागि कानून मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव र एक जना पञ्चाङ्ग निर्णायक समितीका सदस्य वा बिज्ञ रहनेगरी बार्षिक क्यालेण्डर बनाउन समिति बनाइएको छ । 

देश संघीय संरचनामा गइसकेको अबस्थामा एउटा प्रदेशको बिदा अर्को प्रदेशलाई आवस्यक नपर्ने तथा कतिपय विदाहरु कटौती गर्नुपर्ने समेत हुने भएकोले समिति बनाएर पात्राे निर्माण गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिए ।

योजना अनुगमनमा मन्त्रीस्तरीय टोली

मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण योजनाहरु समयमै पुरा गर्नका लागि मन्त्रीस्तरीय अनुगमन समिति बनेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की संयोजक रहने गरी सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत तथा  मुख्यमन्त्री कार्यालयबाट प्रशासन हेर्ने सचिवलाई अनुगमन समितिको सदस्य बनाइएको छ । यो समितिले १ नम्बर प्रदेशमा भएका विकास निर्माणका कामको अनुगमन गर्नेछ । 

स्थायी राजधानी र नामको बिषयमा छलफल शुरु

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जनाएको छ । प्रदेशर सरकारको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता हिक्मतका कार्कीले सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्