०१ असार २०८३, सोमबार

भ्रष्टाचारको दोस्रो मुद्दामा ४५ लाख धरौटी बुझाएर छुटे चूडामणि शर्मा

फागुन २०, २०७४
भ्रष्टाचारको दोस्रो मुद्दामा ४५ लाख धरौटी बुझाएर छुटे चूडामणि शर्मा

काठमाडौं २० फागुन– कर फर्स्यौट आयोगका तत्कालीन सदस्य सचिव तथा राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा ४५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । 

शर्माले सरकारी पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले आरोपपत्रमा जनाएको छ । अख्तियारले आरोपपत्रमा उल्लेख गरेको विवरणअनुसार शर्माले चल–अचल सम्पत्ति एवं सेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको छ । 

शर्माले गरेको कूल आर्जनमध्ये ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण अमिल्दो देखिएको भन्दै अख्तियारले सो बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । 

अख्तियारले मुद्दा दर्ता गरेपनि उनी पक्राउ भने परेका थिएनन् । शर्मा उपस्थित नभएपछि विशेष अदालतले उनीविरुद्ध म्याद जारी गरेको थियो । अदालतले जारी गरेको म्याद अनुसार शर्मा आइतवार विशेष अदालतमा उपस्थित भएका थिए । 

आइतवार द्वारिकामान जोशी र चण्डीराज ढकालको संयुक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । 

अदालतको आदेशअनुसार शर्मा आइतवारै ४५ लाख रुपैयाँ बुझाएर छुटेका छन् । शर्माले ४५ लाखको धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी बुझाएको विशेष अदालतका प्रवक्ता नगेन्द्र पोखरेलले बताए ।
यसअघि कर फर्स्यौट आयोगमा रहँदा आर्थिक अनियमितता गरेको मुद्दामा पनि शर्मा धरौटी बुझाएर रिहा भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्