
काठमाडौं, २१ फागुन — यसपालीको अस्कर अवार्ड मेक्सिकन निर्देशक गिलेर्मो देल तोरोको फिल्म द शेप अफ वाटरले जित्यो । फिल्म नहेरेकाहरूलाई यसको कथा कस्तो होला भन्ने लागेको हुनुपर्छ ।
फिल्मको कथा सन् १९६० को समयको हो । त्यतिखेर सोभियत संघ र अमेरिकाबीचमा शीतयुद्ध चलिरहेको थियो । प्रमुख पात्र एलिसा (स्याली हकिन्स) लाटी छन् । उनी बाल्टिमोरस्थित एक जासूसी उच्च सुरक्षायुक्त सुरक्षा ल्याबमा सफाइ गर्छिन् ।
ल्याबमा एलिसासँग जेल्डा (ओक्टेभिया स्पेन्सर) पनि काम गर्छिन् । जेल्डाबाहेक एलिसालाई नजिकैबाट चिन्ने भनेको चित्रकार जाइल्स (रिचर्ड जेन्किन्स) हुन् ।
यिनीहरूको विगतको कथाको झलक पनि फिल्ममा पाइन्छ । जुन ल्याबमा एलिसा काम गर्छिन्, त्यहाँ वैज्ञानिक डा हफस्टेटलर (माइकल स्टुह्लबर्ग) पनि छन् । उनी खासमा रुसी जासूस हुन् ।
फिल्मका सबभन्दा महत्त्वपूर्ण पात्र ल्याबको ट्यांकमा बस्ने जलचर जीव हो । त्यस भूमिकालाई डग जोन्सले निर्वाह गरेका छन् ।
उक्त जलजीवले जिन्दगी र भावनाहरूलाई बुझ्छ । फिल्ममा एलिसाले संकेतमार्फत संवाद भन्छिन्, ‘उसले मलाई हेर्दा, ममा के कमी छ भन्ने थाहा पाउँदैन । म कति अधूरी छु ऊ थाहा पाउँदैन । म जस्ती छु, ऊ मलाई त्यसरी नै हेर्छ ।’
जलजीवलाई एक नदीबाट सैन्य अधिकारी (माइकल श्यानन) ले पक्रेर बन्दी बनाएका हुन्छन् । नदी किनारमा बस्ने कबीलाहरूका देवता यी जलजीव हुन् भनी फिल्ममा देखाइएको छ ।
प्रयोगशालामा यी जीवलाई यातना दिइन्छ । एलिसाले जीवसँग सम्बन्ध बढाउँछिन् र फिल्मको कथा अघि बढ्छ ।
एलिसाले जलजीवलाई बचाउनका लागि के कस्तो प्रयास गर्छिन् भन्नेमै फिल्मको कथा अडिएको छ ।
बीबीसी हिन्दीबाट