२३ जेठ २०८३, शनिबार

तिलोत्तमाको विकासका लागि अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण

फागुन २४, २०७४
तिलोत्तमाको विकासका लागि अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण

तिलोत्तमा, २४ फागुन– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ ।

रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री  खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । 

नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल रहेका थिए । 

भेटमा नगर प्रमुख घिमिरेले नगरपालिकाको आन्तरिक स्रोतले विकासका ठूला आयोजना कार्यान्वयन गर्न नसकिने बताउँदै ठूला आयोजनाका लागि सहयोग जुटाइदिन अर्थमन्त्री डा. खतिवडालाई आग्रह गरे  । उनले कतिपय विकासका आयोजनामा एशियाली विकास बैंकलगायतका दातृ निकायले समेत लगानीका लागि चासो राखेको बताउँदै यसमा संघीय सरकारबाट सहजीकरण हुने विश्वास व्यक्त गरे ।

त्यसक्रममा उनले तिलोत्तमा वडा नं. १३–१४ को ३० बिगाहा क्षेत्रफलमा क्षेत्रीय स्तरको बसपार्क, आसपासका नगरपालिका तथा गाउँपालिका समेतलाई समेट्ने गरी रिङ रोड, शंकरनगरमा भ्यूटावर निर्माण, सडकहरुको स्तरोन्नतीलगायतका विकास निर्माणमा सहयोग गर्न अर्थमन्त्री डा. खतिवडालाई आग्रह गरे  । यस्तै प्रतिनिधिसभा सदस्य भुसालले बुटवल र भैरहवाको बीच भागमा रहेको तिलोत्तमा नगरपालिकामा विकासका धेरै काम गर्न सकिने उल्लेख गरे  ।

प्रतिनिधि टोलीको कुरा सुनेपछि अर्थमन्त्री डा. खतिवडाले यस्ता महत्वपूर्ण ठूला आयोजनालाई ध्यानमा राखेर यथासक्य सम्बोधन गरिने बताए ।

सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले ठूला विकासका आयोजना समेटिएको प्रतिवेदनका साथै नगरपालिकाको मासिक मुखपत्र ‘तिलोत्तमा सन्देश” अर्थमन्त्री डा. खतिवडालाई प्रदान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्