०३ असार २०८३, बुधबार

जगद्गुरु बालसन्तको अगुवाईमा छाडा चौपायाको व्यवस्थापन

फागुन २५, २०७४
जगद्गुरु बालसन्तको अगुवाईमा छाडा चौपायाको व्यवस्थापन

महेन्द्रनगर, २५ फागुन– स्थानीय सरकारले नेपालका जगद्गुरु बालसन्त मोहन शरण देवार्चायको अगुवाईमा छाडा चौपाया व्यवस्थापनका लागि अभियान सञ्चालन गर्ने भएको छ । 

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको कार्यकक्षमा बिहीबार जगद्गुरु सहित हिन्दूवादी संस्थाका प्रतिनिधि सहितको बैठकले छाडा गाई फिर्ता, गौशला निर्माणका लागि जग्गा खोजी, वडामा प्रवचन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले कञ्चनपुरका सबै स्थानीय तहसंग समन्वय गरी ३७ दिनदेखि अन्न त्याग गर्दै आएका जगद्गुरुलाई अन्न ग्रहणका लागि आग्रह गर्ने समेत निर्णय गरिएको छ । गाई सडकमा छाडिएपछि जगद्गुरुले सुदूरपश्चिमको धर्तीमा फलेको अन्न खान छाडेका छन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रणका लागि जगद्गुरुसित छलफल गरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘जगद्गुरुसित सरोकारवाला निकायका प्रतिनिधिसंग छलफल गरी निर्णय गरेका छौ’ उनले भने । प्रवक्ता पाण्डेयले चौपाया फिर्ताका लागि वडा वडामा जगद्गुरुको प्रवचन कार्यक्रम, जगद्गुरुको नेतृत्वमा छाडा चौपाया व्यवस्थापनका लागि जग्गा खोज्ने, घर पालुवा चौपायालाई टयाग लगाउने र जगद्गुरुलाई अन्न खान आग्रह गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

बैठकमा जगद्गुरुको नेतृत्वमा छाडा चौपाया व्यवस्थापनको ढाँचा तयार गरिने विषयमा छलफल गरिएको छ । यसैगरी स्वामी महाराजलाई गाईको कानमा लगाइने उपलब्ध गराउने जिम्मेवारी दिइएको छ । बैठकमा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द सहित भारतको गौज्ञान फाउन्डेशनका आचार्य नन्दकिशोर भारदाज, श्री पुनम गावा, पिपल फर एनिमलका अन्जली बर्मा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, हरिशशरण महारज, बडिमालिका नगरपालिका बाजुराका मेयर लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका मेयर विष्टले बैठकमा छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाबाट गरिएका कार्य सम्बन्धी  जानकारी गराएका थिए । उनले चौपाया व्यवस्थापनका लागि नगरपालिका सबै सहयोग गर्न तयार भएको बताए । ‘यताबाट जे सहयोग गर्नु पर्ने हो, त्यो गर्न हामी तयार छौ’ उनले भने । उनले छाडा चौपाया व्यवस्था गरिने ठाउँमा विद्युत, खानेपानी, बाटोघाटो लगायतका सबै पूर्वाधार बनाउन नगरपालिका तयार भएको मेयर विष्टले बताए ।

भीमदत्त नगरपालिकाले चौपाया व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यदल बनाएको  छ । यसैगरी उप मेयर सुशिला चन्दको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ ।  कार्यदलका सदस्य जीवछ यादवले अपवाह फैलाएर छाडा गाईको संख्या बढ्दै गएको उल्लेख गर्दै बागफाँटामा ८ बिगाहा जग्गा भाडामा लिएर व्यवस्थापनका लागि पूर्वाधार निर्माणका कार्य भई रहेको जानकारी दिए ।

जगद्गुरुले स्थानीय सरकार सहित  सबैको पूरा शक्ति लगाएर छाडा पशु चौपाया व्यवस्थापन कार्य अघि बढाउनु पर्ने बताए । ‘मान्छे मर्यादा मिचेर गए, यसका लागि पूरा शक्ति लगाएर जाऔ, गाईलाई सुरक्षित बनाऔ’ उनले भने, ‘सबै लागेपछि तीन दिनभित्र पनि गौशला बनाएर सुरक्षित बनाउन सक्छौ ।’ उनले सबै पक्षििसत संवाद गरी फिर्ता अभियान चलाउनु पर्नेमा जोड दिए । 

भीमदत्तको कार्यदलले छाडा चौपाया व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर जाने प्रवक्ता पाण्डेयले बताए । ‘कार्यदल सिफारिश आधारमा योजना बनाएर अघि बढ्छौ’ उनले भने । बैठकमा सहभागी गौज्ञान फाउन्डेशन र पिपल फर एनिमलका प्रतिनिधिले चौपाया व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अन्न त्यागपछि जगद्गुरुले भीमदत्त नगरपालिकाका विभिन्न वडामा गौ रक्षा महायज्ञ लगाएर दुई सय भन्दा बढी गाई फिर्ता गराएका छन् । भीमदत्त नगरपालिकाका सुकासालबाट महायज्ञ लगाउन सुरु गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्