
काठमाडौं, २७ फागुन-नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।
संसद बैठक शुरु हुनुअघि बसेको एमाले-माओवादी संसदीय दलको संयुक्त बैठकबाट यस्तो निर्देशन दिइएको हो ।
एमाले सचिव योगेश भट्टराईले ट्वीट गर्दै यस्तो जानकारी दिएका छन् ।
एमाले र माओबादी केन्द्रको सम्सदीय दलको संयुक्त बैठक सम्पन्न दुबै दलका सम्सदीय दलका नेताद्वारा आज प्रधानमन्त्रिले प्रतिनिधिसभामा लिने बिश्वासको मतका पक्षमा मतदान गर्न साम्सदहरुलाई निर्देशन दिनिभयो ।pic.twitter.com/RCOFjatYwn
— Yogesh bhattarai (@yogeshuml55)March 11, 2018
संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्विप जारी गरे ।
उनले भने, 'सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।' अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । उनले भने, 'जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।'
उनले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।