०८ असार २०८३, सोमबार

मुख्य समाचार : विमान दुर्घटनामा ४९ जनाको मृत्यु- ‘असाधारण अवतरणबाट दुर्घटना’, घाडाघोडीका नगर प्रमुखमाथि आक्रमण

फागुन २९, २०७४
मुख्य समाचार : विमान दुर्घटनामा ४९ जनाको मृत्यु- ‘असाधारण अवतरणबाट दुर्घटना’, घाडाघोडीका नगर प्रमुखमाथि आक्रमण

काठमाडौं, २९ फागुन–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । 

उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहरु मध्ये ३३ नेपाली थिए । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

‘असाधारण अवतरणबाट दुर्घटना’– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को प्रारम्भिक अनुसन्धानबाट जहाजको अवतरण असाधारण देखिएकाले युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन ।

जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएका थिए । 

विमानमा  ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ । 

को को सवार थिए– विमानमा नेपालका शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, वसन्त बोहरा, समिरा व्यञ्जनकार, प्रवीण चित्रकार, सजना देवकोटा, प्रिन्सी धामी, ज्ञानीकुमारी गुरुङ, दिनेश हुमागाईं, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, केशव पाण्डे, प्रसन्न पाण्डे, विनोदराज पौड्याल, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, आशिष रञ्जित, कृष्णकुमार सहनी, आश्ना शाक्य, सनम शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, डा बालकृष्ण थापा, श्वेता थापा, किशोर त्रिपाठी र अवधेशकुमार यादव थिए ।

यसैगरी बंगलादेशका फैसल महम्मद, शहरिन अहमद, इकुव अली, फुज्जमान अली, अल्मुन नहर एन्नी, बिल्किस एरा, बेगम हुरुन नहर बिल्क्विस बानु, एमएसटी अख्तरा बेगम, एमडी शाहीन बेपारी, नाजिया अफ्रिन चौधरी, एमडी रिज्वनुल हक, एमडी रोकिबुल हसन, मेहदी हसन, एमराना कबिर हासी, एमडी कबिर हुसेन, सञ्जिदा हुक, एमडी हसन इमाम, मोहम्मद नसरुल इस्लाम, अखी मोनी, मिनाज बिन नासिर, एफएच प्रिओक, तमर्रा प्रिओनमोइ
मोदुर रहमान, महमुदुर रहमान, ताहिरा तन्विन शाशी रेजा, पियास रोय, शेख रसिद रुवायत, युमी सलिमा, सैयादा कम्रुन्नहार शवार्ना, अनिरुद्द जमान, एमडी नुरुज जमान र एमडी रफिक्ज जमान विमानमा सवार थिए ।

चीनका झ्याङ मिङ, माल्दिभ्सका रिजाना अब्दुल्ला, र चालक दलका पृथुला रसिद (पाइलट), ख्वजा हुसेन र रकिबुल हुसेन थिए ।


छ सदस्यीय जाँचबुझ आयोग– मन्त्रिपरिषद्को बैठकले युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ बसेको बैठकले गठन गरेको आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र  सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् । 

बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथ महान्यायाधिवक्ताको प्रक्रियाजस्तै गरी प्रदेशको उच्च अदालतको मुख्य न्यायाधीशको उपस्थितिमा गराउने निर्णय गरेको छ ।

राष्ट्रपतिको निर्वाचनको तयारी पूरा– मंगलबार हुने राष्ट्रपति पदको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा छन् । 

राईलाई मतदान गर्ने– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कार्यसम्पादन समितिको बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई समर्थन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकले यही फागुन २४ गते कैलाली जिल्ला, घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीयवासी किशोरी राधा चौधरीमाथि भएको कुटपिटको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । 


मेयर चौधरीमाथि गोली प्रहार– अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन्  । नगरपालिकाको सुख्खड बजारमा अज्ञात समूहले सोमबार साँझ उनीमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए  । 

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए  । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । 

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । 


व्यवसायीमाथि मुद्दा दायर–    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ ।     विभागले पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६०  व्यावसायिक संस्थाको अनुगमन गरिएकोमा गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको बताएको छ ।
विभागले अन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ । 
 

तिमिल्सिना निर्विरोध– राष्ट्रियसभाको अध्यक्ष पदमा नेकपा एमालेका गणेश तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ । संसद सचिवालयले मनोनयनका लागि सोमबार दिउँसो एक बजेसम्मका लागि दिएको समयसीमा भित्र तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । 
यसको औपचारिक घोषणा निर्वाचनकै दिन बुधबारमा मात्रै हुने भएको छ । एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तिमिल्सनाको नाम सिफारिस गरेको थियो ।


पूर्ण इजलास बहिष्कार– न्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इजलास बहिष्कार गरेका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसी र कान्तिपुर पब्लिकेशनविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा राणाले इजलास बहिष्कार गरेपछि इजलास स्थगित भयो । 
इजलास बसिरहेको समयमा राणाले वक्तव्य पढेर सुनाउनु भएको थियो । उहाँले प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सकिएको जिकिर गरे ।


भौतिक पूर्वाधार अभाव– भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइले प्रदेश सरकारको काम प्रभावित भएको छ । 
प्रदेशसभाबाट विश्वासको मत लिएको भोलिपल्ट सोमबार मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार सम्मेलन गरी बुटवलमा प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार अभाव रहेको स्पष्ट पारे । उनले बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजार नजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि अझै पनि उपयुक्त नभएकाले विकल्पको खोजी गरी सार्न ठाउँ खोजी भइरहेको बताए । 

३० हजारबढी किसानको प्रदर्शन– भारतको नासिकबाट हिँडेर मुम्बई पुगेका ३० हजार भन्दा बढी किसानले प्रदर्शन गरेका छन् । मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा किसानहरुले सोमबार मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गरेका हुन् । 
किसान ६ दिनअघि नासिकबाट हिँडेर सबेरै मुम्बई पुगेका थिए । सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ । महाराष्ट्र सरकारले आफू वार्ताका लागि तयार रहेको र त्यसका लागि आन्दोलन रोकिनु पर्ने बताएको छ । 

नेपालले हङकङलाई हरायो– आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । सोमबारको जितसँगै नेपाल समूहमा चौथो भएको छ । 
अफगानिस्तान रनरेटमा अघि रहदै तेस्रो भएर सुपर ६  पुगेको छ । समूह ’बी’ को खेलमा लगातार ३ पटक पराजित भएको नेपालले हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ । हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो । 
त्यअघि बुलावायो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १ सय ५३ रनमा अलआउट भयो । 

उपाधि आर्मीलाई– तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । विर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनलमा सडन डेथमा आर्मीले आयोजक झापा ११ माथि जित दर्ता गरेको हो । खेलको निर्धारित समय र थपिएको समयमा १ – १ गोलको बराबरी भएपछि सडन डेथबाट खेलको निर्णय लिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्