
भारतीय बक्स अफिसमा अजय देवगनको लागि गत वर्ष निकै राम्रो भयो । यस वर्ष उनको पहिलो फिल्म रिलिजका लागि तयार भएको छ । शुक्रवार सिनेमाघरमा रेड रिलिज हुने तयारीमा छ ।
समाचारहरुका अनुसार यस फिल्मको कथा ८० को दशकको हो जो एक ट्याक्स अधिकारीले एक हाइप्रोफाइल रेड गरेको विषयमा केन्द्रित छ । पछिल्लो २६ वर्षमा बलिउडमा सक्रिय ४८ वर्षका अजय देवगन अफिसरको मुख्य भूमिकामा छन् । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका छन् ।
फिल्ममा देवगनका साथ सौरभ शुक्ला तथा इलियाना डीक्रुजको मुख्य भूमिका रहेको छ ।
यो फिल्मले राम्रो कमाइ गर्ने अनुमान गरिएको छ । पछिल्लो पाँच फिल्मको रेकर्ड हेर्ने हो भने उनको कलेक्सन निकै राम्रो छ । अजयको पछिल्लो पाँच फिल्मले भारतमा करिब ५०९.०३ करोड रुपैयाँ कमाएका छन् ।
गोलमाल अगेन, बादशाहो, शिवाय, दृश्यम, एक्शन ज्याक्सनबाट उनले यस्तो. कमाइ गरेका हुन् ।