
काठमाडौं, २ चैत-माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुन 'पासाङ'लाई दोहोर्याउने भएको छ । शुक्रबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पुनलाई उपराष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको हो ।
एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याएपछि माओवादीमाथि पनि पुनलाई दोहोर्याउन दबाब बढेको थियो । यसबीचमा उपराष्ट्रपति राजपालाई दिने चर्चा पनि चलेको थियो । अन्तत: पुन नै दोस्रो कार्यकालका लागि उपराष्ट्रपति बन्ने भएका छन् ।
उपराष्ट्रपति निर्वाचन यही चैत ९ गते हुँदैछ ।
यस्तै बैठकले राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अखिल नेपाल महिला संघ क्रन्तिकारीको संयोजकसमेत रहिसकेकी दाहाल हाल माओवादी निकट राष्ट्रिय बुद्धिजीवी संगठनकी सदस्य हुन् ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आइतबार हुँदैछ ।