
काठमाडौं, २ चैत-उर्जामन्त्री बनेको समयमा राम्रो काम गरेर प्रसंशा कमाएका गोकर्ण विष्ट सात वर्षपछि फेरि मन्त्री बन्ने भएका छन् । यस्तै प्रदीप ज्ञवाली दशकपछि सरकारमा जाने भएका छन् ।
२०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका विष्ट केपी ओली सरकारमा श्रम तथा रोजगार मन्त्री बन्न लागेका हुन् ।
उर्जामन्त्री रहेको समयमा विद्युत् महसुल नतिर्ने सरकारी कार्यालयको विद्युत् लाइन काटेर विष्ट चर्चामा आएका थिए । पहिलोपटक मन्त्री बन्दा राम्रो काम गरेका विष्ट पुरस्कृत हुन लागेका हुन् ।
विष्टसंगै गुल्मीबाट प्रदीप ज्ञवाली पनि मन्त्री बन्न लागेका छन् । २०६३ सालमा गिरिजाप्रसाद कोइराला सरकारका ज्ञवाली पर्यटन मन्त्री थिए ।
विष्ट र ज्ञवाली दुबै एमालेका सचिव हुन् । प्रदेश नम्बर ५ बाट गुल्मी जिल्लाले दुई मन्त्री पाएको छ । ज्ञवाली र विष्टले मंसिर २१ गते सम्पन्न निर्वाचनमा गुल्मी १ र २ बाट प्रत्यक्ष चुनाव जितेका थिए ।