
काठमाडौँ, ३ चैत— नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश नीति सञ्चालनलाई गम्भीर रूपमा लिँदै सरकारले ‘प्रो–एक्टिभ’ कूटनीति अवलम्बन गर्ने बताएका छन् । उनले सरकारले सम्बन्धदेखि सबै विषयमा प्राथमिकता अनुरूप काम गर्दै अघि बढ्ने बताए ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार साँझ पदभार ग्रहणपछि आफ्नो प्राथमिकता स्पष्ट पार्दै उनले भने, ‘हाम्रो प्राथमिकता दुई छिमेकी मुलुक भारत र चीनसँग आ–आफ्नै प्रकारको सम्बन्ध कायम गरेर अघि बढ्ने नै हो ।’ अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले छिमेकीद्वय भारत र चीन अत्यन्त महत्त्वपूर्ण रहेको बताएकाले विश्वासको वातावरण थप मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।
एकअर्काप्रति सद्भावका आधारमा सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्नेमा ज्ञवालीको जोड छ । छिमेकी देशहरूसँगको सम्बन्धलाई विस्तार गर्ने सरकारको नीतिअनुसार काम अघि बढ्ने उनले स्पष्ट पारे ।
सरकारले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित गर्नेभन्दा पनि राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आ–आफ्नै प्रकारको सम्बन्ध राखेर अघि बढ्ने र नेपालप्रति ‘विश्वास एवं सद्भाव’ बढाउनेमा जोड दिए ।
परराष्ट्रमन्त्रीले पत्रकारको उपस्थितिमा मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै राष्ट्रिय स्वार्थको रक्षा गर्दै दुवै छिमेकी मुलुकहरूको चासो मुलुक हित हेरी सम्बोधन गर्न मन्त्रालयको भूमिका रहेको बताए ।
उनले नेपालका तर्फबाट हुने भ्रमण जस्तो विदेशबाट पनि नेपालतर्फ भ्रमण गराउन पहल गरिनेसमेत बताए । अबको कूटनीति सबैको विश्वास लिएर अघि बढ्ने प्रकारको हुनुपर्नेमा उनको जोड छ ।, कान्तिपुरमा खबर छ ।