
काठमाडौं, ८ चैत - वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिर बाट समेत मतदान गर्न सक्ने गरी (external voting/out-of-country Voting) कानूनी व्यवस्था गर्नु पर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्च अदालतमा मिति २०७३ वैशाख १४ गते दायर गरिएको रिट निवेदनमा आज कामदारको हकमा निर्देशनात्मक अदेश जारी भएको हो l
नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार अन्तर्गत मतदान गर्न पाउने अवसरको अधिकार समेत अन्तरनिहित रहेको हुने र मुलुकबाहिर भए पनि नागरिकले मतदानको अधिकारको सुनिश्चितता गरिनु पर्ने जिकिर निवेदनमा पेश गरिएको थियो l रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग लगयातलाई विपक्षी बनाइएको थियो l यस रिट निवेदनमा निवेदक संस्थाका तर्फ बाट अधिवक्ताहरू हरि फुयाल, बरुण घिमिरे, अनुराग देवकोटा, आलोक पोखरेल र केदार दाहाल समेतले बहस गर्नु भएको थियो l