
धनगढी, ९ चैत-नेकपा (माओवादी केन्द्र) प्रदेश– ७ का इञ्चार्ज लेखराज भट्टलाई कैलालीको हरैयास्थित सुकुम्वासी बस्ती उठाउन खोजेको आरोप लागेपछि उनी कडारूपमा प्रस्तुत भएका छन् । अत्तरियास्थित आफ्नै निवासमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरी नेता भट्टले पैसा खाएर सुकुम्वासी बस्ती उठाउन खोजेको आरोप लागेपछि त्यसको खण्डन गरेका हुन् ।
‘सुकुम्वासी बस्ती बसाउने या खाली गराउनेमा मेरो कुनै सम्बन्ध छैन, मेरै निर्वाचन क्षेत्रमा पर्ने बस्ती हो, संविधानमा व्यवस्था भएबमोजिम व्यवस्थापन गर्ने राज्यको दायित्व हो’, नेता भट्टले भने, ‘जग्गा दलालबाट ३ करोड कमिसन खाएर बस्ती उठाउन खोजेको आरोप लगाउनु भनेको मेरो सामाजिक प्रतिष्ठा धरापमा पार्ने काम हो, ३ करोड त के, ३ पैसा पनि खाएको कसैले प्रमाणित गर्छ भने, राजनीति नै परित्याग गर्छु ।’
उनले पार्टीको कार्यकर्ता नै मुछिएको तथा गैरकानूनी काममा संलग्न भएको प्रमाणित भए तिनीहरुलाई पार्टीको नियम तथा मुलुकको प्रचलित कानून बमोजिम कारबाही गरिने बताए ।
‘जग्गा खरिद बिक्रीमा संलग्न भनिएका कालीबहादुर खाम, गौरी जोशीको नाम जोडिएको छ, तिनीहरू पार्टीका कार्यकर्ता हुन्, तर तिनीहरु के गर्छन् भन्नेबारे मलाई केही जानकारी छैन, यदि राजनीतिक पावरको दुरुपयोग गरी कोही गलत काम गर्छ भने कारबाही हुन्छ ।’
उनले मुलुक संघीयतामा गइसकेपछि जनताले तत्काल परिणाम खोजेको बताए । अझै पनि प्रदेश सरकारले आवश्यक कानून निर्माण गरी नसकेकोले केही ढिलाई भए पनि जनताको अपेक्षा पूरा हुने नेता भट्टको भनाइ छ ।